गोरखा– नेपाली कांग्रेसका नेता गगन थापाले गोरखाबाट बाबुराम भट्टराईले जित्नु भनेको संसदमा कांग्रेस बलियो हुनु भएको बताएका छन्।
सोमबार गोरखाको भच्चेक बजारमा सम्पन्न भएको नयाँ शक्ति पार्टी, नेपाल र नेपाली कांग्रेसको संयुक्त चुनावी सभामा सम्बोधन गर्दै थापाको बाबुरामले जिते कांग्रेसकै आन्दोलन बलियो हुने बताएका छन्।
उनले बाबुराम भट्टराईलाई विजयी गराउन आफ्ना पार्टीपंक्तिलाई आग्रह गर्दै उनले जितेमा राजनीतिलाई जनतासँग जोड्ने प्रवृत्ति पनि जित्ने बताए। भने, ‘त्यो प्रवृत्ति नेपाली राजनीतिमा जिउँदो रहनु आवश्यक छ।’
दुःखसाथ संविधान बनेको भन्दै थापाले आसन्न चुनाव पाँच वर्ष संविधानलाई संस्थागत गर्ने वा भत्काउने जनमत संग्रह भएको समेत बताए। ‘संविधानलाई जोगाउनका निम्ति, त्यसलाई कार्यान्वयन गरेर जानका निम्ति’, थापाले भने, ‘कांग्रेसले जित्न र बलियो हुन आवश्यक छ।’
उनले पहिलो संविधानसभा असफल भएकोमा दोस्रोलाई पनि कांग्रेसले नसम्हालेको भए संविधान नबन्ने दाबी समेत गरे। ‘कांग्रेसले संविधानसभा नसम्हालेको भए आज न संविधान हुन्थ्यो, न चुनाव,’ उनले थपे, ‘हामी संसदको मृत्यु कुरिरहेका हुन्थ्यौं।’
एमालेको कारणले नभइ कांग्रेसको कारण माओवादीले संविधान मान्ने शक्ति बन्न पाएको थापाले दाबी गरे। ‘उपद्रो गर्ने माओवादीलाई छोडेर अगाडि बढौं भनेर एमालेले भन्दा कांग्रेसले नै साथमा लिएर अघि बढेको हो,’ थापाले भने।