गोरखा- निर्वाचन क्षेत्र न २ का प्रतिनिधि सभा उम्मेदवार नारायणकाजी श्रेष्ठले निर्वाचन पछि विकासको लहर आउने दावी गरेका छन् ।
गोरखा नगरपालिका–९ को विभिन्न स्थानमा सयुक्त बाम गठबन्धनको चुनावी सभा तथा घरदैलो कार्यक्रम बोल्दै श्रेष्ठले चुनाव पछि विकासको लहर आउने दावी गरेका हुन् ।
श्रेष्ठले स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर प्राथमिकताको आधारमा विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गोरखा जिल्लाको समग्र विकासको निम्ति बाम गठबन्धनलाई बिजयी गराउन श्रेष्ठले आग्रह गरे ।
श्रेष्ठले पुसमा बामपंथीको स्थायी सरकार आउने पक्का भएको बताउदै भने ‘बिकासका लागि स्थायी सरकार चाहिन्छ । अब केन्द्र सरकार र प्रदेश सरकार दुबै बामपंथीको नेतृत्वमा बन्छ त्यसैले गोलाकार भित्रको हसिया हथौड़ामा मतदानगरि गठबन्धन लाई बिजयी गराउनुस ।’
कम्युनिष्टहरुको लालकिल्ला गोरखाको इतिहास कायम राख्न श्रेष्ठले अपिल गरेका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार कमला नहर्कीले देशभर बामपंथीको बिजय सुनिश्चित भएको दावी समेत गरीन् ।
ठाडो उकालो बाटो ‘लौरो टेक्दै एक बृद्ध सोमबार विहानै नारायणकाजी श्रेष्ठ को हो भन्दै आए । उनि हुन् गोरखा नगरपालिका ९ दल भञ्ज्याङका ८३ बर्षिय शिवबहादुर खत्री ।
श्रेष्ठलाई भेट्न साथ खत्री ले भने ‘म एमाले हुँ, सबै बामपंथी एक भए म धेरै खुसी छु । सबै बामपन्थीको उम्मेदवार तपाई (नारायणकाजी श्रेष्ठ) बन्नु भो । झन खुसी लाग्यो, जित्नुहुन्छ ।, झ्याम्म अङ्गालो हाल्दै श्रेष्ठले भावुक भएर जवाफ फर्काए, हजुरको आशिर्वाद लागोस, मलाई बोलाउनु भाको भए मै आउँथे । हजुर दुख गरेर आउनु भो धेरै धेरै धन्यवाद ।’