गोरखा– गोरखा २ मा दुई हेभिवट नेताहरू डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएपछि निर्वाचन क्षेत्र न १ का नेताहरू ओझेलमा परेका छन् ।
प्रतिनिधिसभातर्फ २ र प्रदेशतर्फ ४ निर्वाचन क्षेत्र रहेको गोरखालाई सबैले चासोका साथ हेरेका छन् । आगामी मंसिर १० गते हुने निर्वाचन लागि यति बेला गोरखाका गाउँ–गाउँमा राजनीतिक दलहरू भोट माग्दै पुगेका छन् ।
गोरखाको चुनावी मैदानमा आधा दर्जन बढी दलहरू उत्रिए पनि यहाँ मुख्य प्रतिस्पर्धा भने माओवादी, कांग्रेस, एमाले र गोरखालाई आफ्नो आधार क्षेत्र बनाउन प्रयास नयाँ शक्तिबिच नै हुने देखिएको छ । एक्लै लड्दा मुख्य प्रतिस्पर्धी कांग्रेस–माओवादी बिच हुने स्थिति रहे पनि गठबन्धन निर्माणका कारण तीन वटा दल बलियो बन्ने देखिएका छन् ।
माओवादीको प्रभाव क्षेत्रका रूपमा चिनिने गोरखाको राजनीति डा. बाबुराम भट्टराई पार्टीबाट बाहिरिएसँगै बदलिएको छ । वैकल्पिक शक्ति निर्माणका लागि बाबुरामले गोरखामा प्रभाव विस्तार थालेपछि यो जिल्लाको समीकरणमा फेरबदल आएको हो ।
जिल्लामा अन्य पार्टीको तुलनामा छोटो समयमा संगठन र जनमत दुवै निर्माण गर्न सफल भएको माओवादी बाबुराम चोइटिएसँगै रक्षात्मक अवस्थामा छ ।
यस पटक आफ्नो लिगेसी र साख दुवै जोगाउनु पर्ने दबाबमा रहेको माओवादी केन्द्रलाई एमालेको साथले साथ दिएको छ । उता, नयाँ शक्ति र कांग्रेस पनि गोरखामा राजनीतिक शक्ति आर्जन गर्न उद्धत देखिएका छन् ।
गोरखाका तीन वटै राजनीतिक दल शक्ति आर्जनको ध्याउन्नमा लाग्दा गोरखाको चुनाव यस पटक निकै नै पेचिलो, रोचक, घोचक अनि चाखपूर्ण बनेको छ ।
आ–आफ्नै दाउमा रहेका दलहरूले यस पटक स्वार्थ मिल्ने दलसँग दोस्ती गाँसेका छन् । एमालेले माओवादी केन्द्रलाई गोरखा छाडेपछि दुवै क्षेत्रमा माओवादीको ढलीमली छ । आफ्नो तर्फबाट उम्मेदवार नउठाई साथ दिने वचन एमालेले दिएकाले माओवादी लगभग ढुक्क छ ।
एमालेको साथले राहत महसुस गरेको माओवादी केन्द्रले गोरखाको क्षेत्र नं. १ मा हरि अधिकारीलाई उम्मेदवार बनाएका छ । गोरखाको प्रतिनिधि सभातर्फको १ नम्बर क्षेत्रमा ५ गाउँपालिका र एक नगरपालिकाको केही वडाहरू पर्छन् ।
यो निर्वाचन क्षेत्रमा गाउँपालिकातर्फ भीमसेन, शहीद लगन, गण्डकी, धार्चे र चुमनुव्री पर्छ भने गोरखा नगरपालिकाको १ देखि ७ वडा पनि १ मै छ । यही स्थानीय तहका मतदाताको हातबाट मंसिर १० गते हरि अधिकारी र चीनकाजी श्रेष्ठको भविष्य निर्धारण हुँदै छ ।
यी दुई उम्मेदवारमध्ये अधिकारीलाई एमालेको दह्रो साथ छ भने श्रेष्ठलाई नयाँ शक्ति पार्टी समर्थकले मत दिनुपर्नेछ ।
तर, यो दौडमा अधिकारीलाई स्थानीय चुनावको गणित देखि उनको व्यक्तित्व, त्याग र योगदानसम्मले साथ दिएको चर्चा गोरखा तिर छ । जसका कारण, श्रेष्ठभन्दा अधिकारीको स्थिति अहिले देखि नै सुदृढ बन्दै गएको छ । यो क्षेत्रमा पर्ने ६ स्थानीय तहमध्ये अधिकांशमा कांग्रेसले बाजी मारेको केही महिना मात्रै बितेको छ ।
कांग्रेसले अधिकांश तहमा माओवादीलाई धुलो चटाएकाले कांग्रेसले नै बाजी मार्ने आकलन कतिपयले गरेका छन् । तर, माओवादी पराजित भएको स्थानमा भारी मतले होइन, झिनो मतका साथ पराजित भएकाले यस पटक काँग्रेसलाई पछि पार्न माओवादीलाई केही मतको मात्रै जरुरत छ ।
जुन मत माओवादीले सजिलै एमालेबाट लिँदै छ । स्थानीय तहको मत परिणाम अनुसार, गोरखाको क्षेत्र नं. १ मा एमाले–माओवादी गठबन्धनको कूल मत २९ हजार ३ सय २० छ भने कांग्रेस–नयाँ शक्तिले पाएको मतको कूल योग २८ हजार ७ सय २० छ ।
झिनो मतले यो क्षेत्रमा माओवादी उम्मेदवारले जित्ने स्थानीय तहको गणितले समेत देखाउँछ । तर, स्थानीय तहमा खसेको मतकै निरन्तरता प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नहुने धेरैको आकलन छ ।