गोरखा- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बिरामी भएका छन् ।
गत कार्तिक ५ गते गोरखा क्षेत्र न २ को प्रतिनिधि सभा सदस्यका पदमा उम्मेदवारी दिए पछि लगातार गोरखा २ को घरदैलौमा रहेका श्रेष्ठलाई केहि समय अगि नै ज्वरो आएको थियो ।
चुनावी दौडधूपका कारण उनी बिरामी भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।
‘गत ७ गते देखि नै बिरामी हुनुहुन्थ्यो’ श्रेष्ठले भने ‘चुनावी दौडधूपले गलायो । निद्रा पनि पुगेको थिएन । ज्वोरो आएको थियो । ब्लड पनि कम रहेको डाक्टरहरुले भन्नुभएको छ, अहिले रिकभर हुँदै छ ।’
श्रेष्ठका अनुसार नारायणकाजी ललितपुर स्थित किस्ट अस्पतालमा मंसिर १३ गतेदेखि भर्ना गरी उपचाररत छन् । गोरखा क्षेत्र नं २ मा श्रेष्ठसँगै नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपाल पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन् ।
गत कार्तिक ५ गते देखि प्रायजसो गोरखामा रहेका श्रेष्ठ १० मंसिरमा मतदान गरेर ११ मंसिरमा राजधानी फर्केका थिए । उनको स्थिति सामान्य रहेको उनको सचिवलायले जनाएको छ ।