गोरखा- गोरखाको वारपाकलाई केन्द्रबिन्दु भएर भुकम्प गएको ३० महिना पुरा भएको छ । तीस महिना हुँदा जिल्लाका ४ हजार ५ सय ८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न भएका छन् ।
भूकम्पले यहाँका करिब ७० हजार वटा घर तथा गोठ भत्किएको भएपनि सरकारले ६१ हजार तीन सय जना लाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको थियो ।
सरकारले जग खन्नका लागि पहिलो किस्ता ५० हजार, घरको डिपिसी गरेपछि दोस्रो किस्ता एक लाख ५० हजार र घर निर्माण गरेपछि तेस्रो किस्ता एक लाख दिने नियम बनाए अनुसार किस्ताबन्दीमा भूकम्पपीडितलाई घर निर्माणमा सघाएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव लाल पौडेलका अनुसार ६१ हजार तीन सय लाभग्राहीमध्ये अहिलेसम्म ५८ हजार जनाले ५० हजारका दरले पहिलो किस्ता पाइसके भने १२ हजार ९२० जनाले दोस्रो किस्ता रकम बुझेका छन् । यस्तै चार हजार पाँच सय ८५ जनाले तेस्रो किस्ता अनुदान रकम पाएका छन् ।
घर बनिसक्दा पनि पाईएन तेस्रो किस्ता
शहिद लखन गाँउपालिका वडा नम्बर ७ मास्केछापका कृष्ण बहादुर रानाले घर पुनःनिर्माण सम्पन्न गरेको एक बर्ष बितिसक्यो । निजि आवास अनुदानको पहिलो किस्ता लिएर घर बनाउन सुरु गरेका रानाले दोस्रो किस्ता पनि पाए । तर घर बनेको बर्ष वितिसक्दा समेत उनले तेस्रो किस्ता पाउन सकेका छैनन ।
मास्किछापमा सबैभन्दा पहिला किस्ता लिएर घर बनाउन सुरु गरेका रानाले इन्जिनियरले भने अनुसार नै घर पनि बनाए । गाँउमै पहिलो घर पुननिर्माण गरेर पनि उनैले नै सके तर हालसम्म उनैले तेस्रो किस्ता पाएका छैनन ।
‘यो गाँउमा घर बनाउने पहिलो मान्छे मै हुँ, उहाँहरु आएर हेरेर पनि जानुभाको हो, सबै मापदण्ड पुग्या छ भन्नुहुन्थ्यो, खै आजसम्म तेस्रो किस्ता पाको छैन’ मास्केछापका रानाले भने ।
उनको घर गाँउमै नमुना बन्यो, त्यै घर हेरेर अरुले घर बनाए तर त्यै घरले किस्ता पाउन सकेको छैन । ‘इन्जिनियरले मेरै घर हेरेर गाँउका अरुलाई समेत यस्तै घर बनाउनु भनेर सबैलाई भनेका थिए, कत्तिले त मेरै डिजाइनमा बनाएका छन’ रानाले भने ।
‘मेरै घर हेरेर पछि घर बनाउनेहरुले किस्ता लिइसके, खै मेरो त के भयो के, आजकल त पाउदिन कि भन्ने पो लाग्न थालेको छ त’ उनले दुखेसो गरे । रानाको जस्तै घर निर्माण सम्पन्न भएको तर तेस्रो किस्ता नपाउनेहरुको संख्या बुंकोटमा १ सय ४ घरधुरी रहेको प्रतिबेदन सार्वजानिक भएको छ ।
शहिद लखन गाँउपालिकाको ७ र ८ मा गरेको सार्वजानिक खर्चको सोधखोजको प्रतिबेदन सार्वजानिक कार्यक्रममा उक्त तथ्य बाहिर आएको हो ।
मानववादी समाज (सोच) नेपालको समन्वयमा सञ्चालित परियोजनाले केही समय अघि देखि उक्त वडाहरुमा भुकम्पपिडितको निजि आवास अनुदान किस्ता रकम वितरणकाबारे अध्ययन गरि सरोकारवालाहरुका बिच प्रतिबेदन सार्वजानिक गरेको हो ।
साझा सभाकी संयोजक उर्मिला राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, ८ का वडा अध्यक्ष काशीनाथ अम्गाईले वडामा भएका पुननिर्माणको समस्यालाई छिटो भन्दा छिटो सामाधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । साथै उनिहरुले अनुदानको रकम पारदर्शी ढंगले बितरण गर्ने समेत बताएका छन् ।