गोरखा– पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्ला मध्ये गोरखा जिल्ला राष्ट्रिय स्तरमा रहेर राजनीति गर्दै आएका पूर्व प्रधानमन्त्री नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ दुई पात्रका कारण पनि गोरखाको निर्वाचन चर्चामा रह्यो ।
२८२ मतदान केन्द्रबाट ल्याएका मतपेटिकाहरू र सिलबन्दी गरिएको ढोका यति बेला सिसि क्यामेराको निगरानीमा रहेको छ ।
जिल्लामा आज भएको सर्वदलीय र सर्वपक्षीय छलफलमा बिहीबार साँझ पाँच बजेबाट सुरु हुने मतगणना स्थललाई पनि गणना अवधिभर सिसी क्यामेराको निगरानीमा राखिने मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यसको निगरानी हुने उनले बताए ।
गोरखा निर्वाचन क्षेत्र नं. १ को मतगणना जिल्ला अदालतमा र निर्वाचन क्षेत्र नं. २ को मतगणना जिल्ला समन्वय समितिको भवनमा गरिने भएको छ ।
प्रत्येक घण्टामा बाहिर रहेका सर्वसाधरणहरुलाई माइक तीनतिर फर्काई जिल्ला समन्वय समिति चोकबाट जानकारी गराइने र जिल्ला प्रशासन कार्यालयको सभा हलमा मिडिया सेन्टरको व्यवस्थापन गरिने पौडेलले बताए । मतगणना गर्दा अलग अलग केन्द्रको मतपेटिका मिसाएर गर्ने निर्णय भएको छ ।
भएका सहमति भन्दा बाहिर कुनै समस्या परेमा दलीय सहमति कायम गरी मतगणनालाई अगाडि बढाउने गरी निर्णय समेत भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा दुवै क्षेत्र र प्रदेशमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट मुख्य प्रतिस्पर्धा रहको अनुमान छ । उम्मेदवारहरू आफूले जित्नेमा ढुक्क रहेको बताउँदै आएका छन् ।
बदर र सदर मतपत्रका बारेमा दलहरूलाई मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, दलका नेता तथा प्रतिनिधिहरू, पत्रकार लगायत बिच छलफल भई मार्कर बोर्डको प्रयोग गरी श्रव्य दृश्य शिक्षण समेत भएको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाको सभा हलमा भएको छलफलमा सरोकारवाला निकायको सघन उपस्थिति रहेको थियो । दलका नेताहरू आफूले जित्ने दाबी सहित गणितमा कमजोर हुनेको मत कम आउने भन्दै व्यङ्ग्य समेत गरेका थिए ।
अघिल्ला निर्वाचनमा दलका उम्मेदवारहरू बिच बोलचाल नै नहुने स्थिति भए पनि यस पटकको निर्वाचनमा दलका नेता तथा कार्यकर्ता र उम्मेदवारहरू बिच सामीप्यले झनै गोरखाको निर्वाचनलाई थप रोचक बनाएको कतिपयको भनाई छ । अधिकांशको ध्यानाकर्षण भने गोरखा निर्वाचन क्षेत्र नं. २ मा रहँदै आएको छ ।
स्थानीय तहको मतका आधारमा आ–आफ्नो आधार मानेका क्षेत्रबाट अधिक मत खस्ने अपेक्षा गरेका दलहरू निर्वाचन पछि भने उत्साहित हुन सकेका छैनन् । जे छ बाकसमा छ भन्दै गणनापछि पत्ता लाग्ने बाम र लोकतान्त्रिक गठबन्धनका नेताहरू बताउँछन् ।