गोरखा– गोरखा सदरमुकामको खेलकुद मैदानमा प्रथम गोरखकाली मेला सुरु भएको छ। ‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवर्धन, पहिलो गोरखकाली मेलाको सांस्कृतिक अभियान’ भन्ने नाराका साथ सुरु भएको मेलाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले उद्घाटन गरेका छन्।
मेला उद्घाटन समारोहअघि ३५ भन्दा बढी आमा समूह, युवा क्लब, बाल क्लब, विभिन्न सामाजिक संघसंस्थाबाट झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको छ।
गोरखाको हरमटारी चोकबाट निस्किएको र्यालीले विभिन्न स्थानको परिक्रमा गरेको थियो।धर्म–संस्कृति र जातजातिका झाँकी, चुट्का, तामाङसेलो, पाङ्दुरे, भजन–वालन, लाखे, पञ्चेवाजा, घाँटुका समूहले बजार परिक्रमा गरेका हुन्।८ दिनसम्म चल्ने मेलामा उँटको समेत अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ।
त्यस्तै, मेलाका अवोलोकनकर्ताले घोडामा चढेर बजारको अवोलोकन गर्न पाउने आयोजकले बताएको छ।त्यसका लागि १ सय, २ सय, ५ सय र १ हजारको प्याकेज निर्धारण गरिएको हरमटारी क्लबका अध्यक्ष विशाल गुरुङले जनाए।
‘हामीले घोडा चढ्नेका लागि ४ वटा प्याकेज ल्याएका छौं, १ सयले हरमटारीसम्म, २ सयले जिविसचोकसम्म, ५ सयले बसपार्कसम्म र १ हजारले संग्राहलयसम्म जान पाउने व्यवस्था गरेका छौं,’ उनले भने।