गोरखा- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा प्रचण्डले आफूलाई असहयोग गरेको भन्नु हल्ला मात्र भएको बताएका छन्।
चुनावपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका उनले प्रेस सेन्टर गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।निर्वाचनको समीक्षा गर्न आएका उनले गोरखा २ का मतदाताहरुलाई धन्यवादसमेत दिए।
‘मैले हारे पनि देशैभर वामपन्थीको सानदार विजय भएको छ,’ उनले भने, ‘यसले सामाजिक र आर्थिक रुपान्तरणमा लैजाने आधार मिलेको छ। ’देशैभरि वाम गठबन्धनका उम्मेदवार विजयी हुँदा पार्टी एकताका सूत्राधार समेत रहेका श्रेष्ठ भने गोरखा क्षेत्र नं २ बाट नयाँ शक्तिका बाबुराम भट्टराईसँग पराजित भएका थिए।
एकता नभए पनि सरकार गठनमा असर पर्दैनउनले राष्ट्रियसभामा सबैको प्रतिनिधित्व गर्नुपर्ने भएकाले हाल एकल संक्रमणीय विधि लागू गर्न कठिन रहेको बताए। यद्यपि एकल संक्रमणीय विधिमा जानै हुन्न भन्न नखोजेको उनको भनाइ थियो। लोकतान्त्रिक विधिविरुद्ध कांग्रेस गएकाले आवश्यक लचतकतासाथ सम्झौता र सहमतिको स्प्रिट अनुसार निकास निकाल्न आफूहरु तयार रहेको नेता श्रेष्ठले बताए।
सरकार गठनअघि नै पार्टी एकता गर्नेबारे छलफल भइरहेको पनि उनले बताए। पार्टी एकता छिटो गर्न कार्यकर्ता तहबाट दबाब आइरहेकाले अब एकतालाई कसैले पनि टार्न नसक्ने उनले दाबी गरे।
‘पार्टी एकता वाम आदेश हो, ढिलोछिटो एकता हुन्छ, हामी सरकार गठनअघि नै पार्टी एकता गर्नेबारे छलफलमा छौं,’ उनले थपे, ‘तत्काल पार्टी एकता हुन नसके पनि सरकार गठनमा त्यसले प्रभाव पार्दैन।’पार्टीबाटै असहयोग भयो भन्ने पनि छ नि? भन्ने प्रश्नमा उनले त्यो सबै हल्ला मात्र भएको बताए।
‘अध्यक्षले नै असहयोग गर्नुभयो भन्ने हल्ला पनि चलाए तर त्यस्तो होइन,’ श्रेष्ठले भने, ‘सबैले सहयोग गर्नुभएको छ, म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु।’गोरखा २ को निर्वाचन परिणामको विषयमा बोल्दै नेता श्रेष्ठले आफूहरु निर्वाचनको परिणामका विषयमा पार्टीभित्र र वाम गठबन्धनमा वस्तुनिष्ठ ढंगले समीक्षामा जुटिरहेको बताए।
पार्टी एकता प्रक्रियालाई चाँडै टुंगोमा पुर्याउनेमा छलफल भइरहेको भन्दै उनले नेतृत्व कसले गर्ने भन्नेमा कुनै विवाद नरहेको दाबी गरे। ‘नेताहरुबीच कसरी अगाडि जाने भन्नेमा सैद्धान्तिक र नीतिगत व्यवस्था गरेर नेतृत्वको बारेमा छलफल गरेर अगाडि बढिनेछ,’ उनको भनाइ थियो।