गोरखा- विगत चार दिनदेखि विभिन्न रुपले चलिरहेको भिमसेन गाउँपालिका वासिन्दाहरुको आन्दोलन दिनानुदिन चर्कीदै गएको छ ।
हिजो चौथो दिन भिमसेन गाउँपालिका वडा नं. ५ का प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा भिमसेन गाउँपालिकाका आठ वटै वटाका वासिन्दाहरु सम्मीलित ५५५ सदस्य संयुक्त संघर्ष समिती गठन गरे पश्चात संगठित रुपमा आन्दोलन अघि बढेको छ ।
संयुक्त समिती गठन हुनु पूर्व स्वतन्त्र सम्पूर्ण भिमसेन वासिहरुको नाममा स्थानियहरु आन्दोलित थिए । गाउँपालिकाको केन्द्र भौगोलिक दुरी, श्रोत साधन र जिल्लामा क्रियाशिल सम्पूर्ण राजनितिक दलहरुको सहमतिमा तोकिएको केन्द्र बगुवा नै कायम हुनुपर्छ भन्ने आन्दोलनरत संयुक्त संघर्ष समितिको माग रहेको छ ।
निच स्वार्थ परिपूर्ति गर्न अत्यन्तै पूर्वाग्रही ढंगले किर्ते कागजात प्रयोग गरी गाउँपालिका प्रमुख ईश्वर पाण्डेले बगुवाबाट केन्द्र अन्यत्र सार्ने निर्णय स्थानिय मन्त्रालयबाट गराएको स्थानियले आरोप लगाएका छन् ।
आन्दोलनको आज पाचौं दिन संयुक्त संघर्षको नेतृत्वमा भिमसेन वडा नं. ५ मा अवस्थित गाउँपालिका कार्यलयमा तालाबन्दी भएको छ भने आजै वडा नं. ५ का संपूर्ण सार्वजनिक विद्यालयहरु वन्द गराएका छन् ।
संयुक्त संघर्ष समितिले भोली एक दिने वन्दको घोषणा गर्दै एक चरणको आन्दोलन घोषणा गरेका छन् । उनीहरुले गाउँपालिका भरिका शैक्षिक संघ/संस्था, बैङ्क, उद्योग कलकारखाना, सरकारी कार्यालयहरु, निजी व्यवसायहरु, सार्वजनिक तथा निजी सवारी साधनहरु पूर्ण रुपमा ठप्प पार्ने जनाएका छन् ।
बन्दको अज्ञा गरेमा हुन सक्ने दुर्घटनाको जिम्मेवार स्वंयम संवन्धित पक्ष हुनेछ भन्ने कडा चेतावनी संयुक्त संघर्ष समितीले दिएका छन् । गाउँपालिकाको केन्द्र बगुवा नै कायम गर्नुपर्ने माग यथाशिघ्र पुरा नगरी जिल्ला समेत ठप्प पार्दै आन्दोलन झनै चर्काएर जाने चेतावनी समेत दिएका छन् ।