गोरखा– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा गोरखाबाट उम्मेदवारी दिएका उम्मेदवारले खर्च विवरण बुझाएका छन्। पहिलो चरणमा मंसिर १० गते सम्पन्न निर्वाचनमा गोरखाबाट ३६ जनाले उम्मेदवारी दिएका थिए।
तीमध्ये २७ जनाले निर्वाचन खर्च विवरण बुझाएका हुन्।निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनुपर्छ। प्रमुख दलका उम्मेदवारबाहेक जिल्लाका सबै उम्मेदवारको धरौटी रकम जफत भएको थियो। १२ जना उम्मेदवारको मात्र धरौटी रकम फिर्ता हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभाका उमेदवारले धरौटीस्वरूप १० र प्रदेशसभा उम्मेदवारले ५ हजार बुझाएका थिए।
कसको कति खर्च?
नयाँ शक्ति पार्टीका संयोजक रहेका डा बाबुराम भट्टराईले खर्च विवरण बुझाएका छन्। निर्वाचन कार्यालयका अनुसार उनले चुनावमा २४ लाख ११ हजार २४५ रूपैयाँ खर्च गरेका छन्।
उनीसँगै पराजित वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले भने अहिलेसम्म खर्च विवरण बुझाएका छैनन्। निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी उम्मेदवार माओवादी केन्द्रका हरिराज अधिकारीले १७ लाख १४ हजार १४० को खर्च विवरण बुझाए भने सोही क्षेत्रमा उम्मेदवारी दिएका कांग्रेसका चिनकाजी श्रेष्ठले २२ लाख ७५ हजार खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्।
क्षेत्र नम्बर १ को (क) प्रदेशसभामा उम्मेदवारी दिएका लेखबहादुर थापाले १० लाख ९३ हजारको खर्च विवरण पेश गरेका छन्। अर्का उम्मेदवार धिरन थापाले ११ लाख २० हजारको खर्च विवरण बुझाए। १ को (ख) प्रदेशसभाका विजयी उम्मेदवार एमालेका रामशरण बस्नेतले ९ लाख ७ हजार ६ सय र नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँले १२ लाख ५० हजारको खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ।
क्षेत्र नम्बर २ (क) प्रदेशसभाका विजयी उम्मेदवार हरिशरण आचार्यले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन्। सोही प्रदेशसभामा उम्मेदवारी दिएका माओवादी केन्द्रकी कमला नहर्कीले ७ लाख ७२ हजार ५ सय ४५ रुपैयाँ खर्च भएको विवरण बुझाएकी छिन्।
क्षेत्र नम्बर २ (ख) प्रदेशसभामा उम्मेदवारी दिएका प्रकाशचन्द्र दवाडीले १४ लाख खर्च भएको विवरण बुझाएका छन्। सोही प्रदेशबाट उम्मेदवारी दिएका अमर तमुले ६ लाख ८९ हजार ५ सयको खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ।