गोरखा– नेकपा माओवादी केन्द्रबाट गोरखा २ मा प्रतिनिधिसभा चुनाव लडेका नारायणकाजी श्रेष्ठले आफ्नो निर्वाचन खर्च बुझाएका छन्। उनले १७ लाख २९ हजार ९ सय २५ रुपैयाँ खर्च भएको विवरण आफ्ना प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय गोरखामा बुझाएका हुन्।
मंसिर १० गते सम्पन्न निर्वाचनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग उनी पराजित भएका थिए। बाबुरामको तुलनामा उनको निर्वाचन खर्च कम हो। बाबुरामले २४ लाख रुपैयाँभन्दा धेरै रकम खर्च गरेको विवरण बुझाएका थिए।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२ (४) अनुसार निर्वाचनको परिणाम प्राप्त भएका मितिले ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ। खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारलाई आयोगले कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ।जिल्लामा १२ उम्मेदवारको मात्र धरौटी रकम फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा उम्मेदवारले धरौटीस्वरूप १० र प्रदेशसभा उम्मेदवारले ५ हजार बुझाएका थिए।नारायणकाजीले नामावली खरिदमा २ हजार ९ सय २५ रुपैयाँ, सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा एक लाख, प्रचारप्रसार सामग्रीमा ९८ हजार, ढुवानीमा ३५ हजार, गोष्ठी र कार्यकर्ता परिचालनमा ५ लाख ७५ हजार, विभिन्न सञ्चारमाध्यममा प्रचारमा ९२ हजार, कार्यालय सञ्चालनमा एक लाख २५ हजार, प्रतिनिधि परिचालनमा १ लाख ४० हजार र विविधमा १ लाख १२ हजार रुपैयाँ खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी कमलापति अधिकारीले जानकारी दिए।
६ उम्मेदवारले बुझाएन
जिल्लामा उम्मेदवार बनेका ६ जनाले अझै आफ्नो खर्च विवरण बुझाएका छैनन्। जिल्लामा ३६ उम्मेदवारमध्ये ३० उम्मेदवारले मात्र समयसीमामा विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ।संघीय समाजवादी फोरम नेपालका ४ जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार दीपेन्द्र गुरुङ, क्षेत्र नं. १ प्रदेश क उम्मेदवार गोमादेवी कार्की, निर्वाचन क्षेत्र नं २ को प्रदेश क का होमबहादुर तामाङ र २ को प्रदेश ख का उम्मेदवार दिलीप श्रेष्ठले खर्च विवरण नबुझाएका हुन्। त्यस्तै, निर्वाचन २ को प्रदेश क काएकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार शेनबहादुर सुनार र संघीय समाजवादी पार्टी नेपालका कृष्णगोपाल बञ्जराले खर्च विवरण नबुझाएका हुन्।
समयमा खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगको निर्देशनअनुसार कामकारबाही अघि बढाइने निर्वाचन कार्यालयले गोरखाले जनाएको छ।