गोरखा– तीनै जना छोराछोरी अपाङ्ग भएपछि गोरखाको शहीद लखखन गाउँपालिका वडा नम्बर ७ का धनबहादुर श्रेष्ठको परिवार कमजोर अवस्थाबाट गुज्रिरहेको छ ।
भूकम्पले भत्किएको घरमा बसिरहेका उनीहरुलाई साँझ–बिहान के खाने भन्ने चिन्ताले पिरोलिरहन्छ। ज्याला मजदुरी गरेर गुजारा टार्दै आए पनि छोराछोरीको उचित रेखदेख, उपचार र बस्ने घरको व्यवस्था गर्न मुस्किल परेको धनबहादुर दम्पतीले बताएको छ।
धनबहादुरले दुःख पोखे, ‘छोराछोरी साना छउन्जेल जसोतसो टर्दै आयो। अब त सबै ठूला भइसके, हामी बुढाबुढी हुँदै गयौं। कसरी गुजारा चलाउने हो, बडो समस्या छ।’
अपांगताका कारण ३० वर्षकी जेठी छोरी लीला, १९ वर्षकी शीला र १६ वर्षका छोरा राजीव श्रेष्ठ हिँडडुल गर्न र राम्रोसँग बोल्न सक्दैनन्। उनीहरुको सहयोगका लागि शहीद लखन गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको पहलमा केही समयअघि जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर अपांगता भएका तीनै जनालाई नागरिकता दिएको थियो।
वडाध्यक्ष श्रेष्ठले भने, ‘नागरिकता पाएसँगै उनीहरुलाई सामाजिक सुरक्षा भत्ताका लागि सजिलो भएको छ। तर, आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले यो परिवारलाई सहज जीवनयापनका लागि थप सहयोगको खाँचो छ।’
वडाध्यक्ष श्रेष्ठकै पहलमा उक्त परिवारका लागि आर्थिक सहयोग संकलनको काम भइरहेको छ।
अपांगमैत्री घर बनाएर हस्तान्तरण गर्ने अभियानमा छु’, श्रेष्ठले भने, ‘थोरैथोरै सहयोगले एउटा अप्ठ्यारोमा परेको परिवारलाई ठूलो आडभरोसा दिन सकिन्छ कि भनेर रकम संकलनमा जुटेको हुँ। उहाँहरुको अवस्था देखेर कसैले सहयोग गर्न चाहनुहुन्छ भने त्यो ठूलो पुण्यको काम हुनेछ।’