गोरखा– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब बामगठबन्धन समृद्ध नेपाल निर्माणको तयारी अवस्थामा जुटको बताएका छन् । गोरखा नगरपालीका–८ एमाले पार्टी कार्यलयमा आयोजित कार्यकर्ता तथा मतदातालाई धन्यवाद एवं समिक्षा कार्यक्रममा बोल्दै उनलेले यस्तो बताएका हुन् ।
‘बाम गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ, अब बाम गठबन्धनको सरकार बन्छ अनि समृद्ध नेपाल निर्माणको बाटोमा बाम गठबन्धन अघि बढ्छ,’ श्रेष्ठले भने । आफुले चुनावमा हार व्यहोर्नु परे पनि देश भर बाम गठबन्धनको जित भएकाले अब बामपन्थिको सरकार बन्ने सुनिश्चित भएको उनले बताए ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकताका बारेमा छलफल भैरहेकाले सरकार गठन हुनु भन्दा अगाडी नै पार्टी एकता हुने उनको दावी थियो ।
उनले पार्टी एक हुन नदिन र भाँड्न विभिन्न शक्तिहरूले लागेको बताए । ‘हामी एक हुन नदिन यसलाई भत्काउन, भाँड्न विभिन्न शक्तिहरू लागि परेका छन्। तर हामी पार्टी एक गरेरै शहिद र जनताको सपना पूरा गरेर समृद्ध नेपाल बनाउने नै छौँ।’ उनले दुवै पार्टीभित्र गुट–उपगुट रहेको बताउँदै त्यसको अन्त्य र विभिन्न संगठनको समायोजन कसरी गर्ने भन्ने तयारीमा दुवै पार्टी्भित्र छलफल भएको बताए।
‘फागुनमा नयाँ सरकार बनाउने तयारी त छँदै छ । गोरखालाई लालकिल्ला त बनाउन त सकिएन। तर संघीय सरकार र प्रादेशिक सरकार वाम गठबन्धनकै बन्ने पक्का छ’ , श्रेष्ठले भने, ‘म पार्टी एकता संयोजन समिति सदस्य पनि भएकोले के भन्छु भने फागुनमा दुई पार्टीको एकता भएको घोषणा गरेर सरकार गठन प्रक्रियाका साथ हामी गृहकार्य गरिरहेका छौँ।’