गोरखा– धार्चे गाउँपालिकाको लाप्राकमा पहिलोपटक बस पुगेको छ । बारपाक देखि झण्डै पैदल एक घण्टाको दूरीमा पर्ने लाप्राकको गुम्सिपाखामा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।
बुधबार गोरखा यातायात व्यवसायी समितिको ना ४ ख २१३ नम्बरको बस पहिलोपटक भूकम्पबाट बिस्थापित लाप्राकीलाई पुनस्र्था्पित गराउन बनाइएको गुप्सीको सामुहिक आवास क्षेत्रसम्म पुगेको हो । यात्रुलाई नियमित रुपमा सेवा दिने उद्देश्यले लाप्राकमा बस सेवा शुरु गरिएको समितिले जनाएको छ ।
गाउँमा बस पुगेको खुशीयालीमा स्थानीयवासीले खुशी हुँदै समिति, बस धनी, गाडी चालक तथा सहचालकलाई फूलमालाले स्वागत गरेका थिए । यहाँ नियमितरुपमा बस सेवा सुचारु भएपछि बारपाक देखि गोरखा, काठमाडौँ, पोखरा र चितवान लगायका विभिन्न स्थानमा यात्रा गर्न सहज हुने स्थानीय रामकुमार घलेले बताए ।
यसअघि बस चढ्न बारपाकसम्म पुग्नु पथ्र्यो । ‘बारपाकबाट बिहान पौने सात बजे बस छुट्थ्यो । बस भेट्टाउन घरबाट बिहान तीन बजे नै जानुपथ्र्यो’ गुरुङले भने, ‘अब भने गाउँबाटै बस चढ्न पाइने भयो ।’ यहाँबाट अन्यत्र जानका लागि बारपाक पुग्नु पर्ने समस्या अब भने सहज हुने देखिएको छ ।
घरदैलोबाटै बस चढ्न पाएपछि यस क्षेत्रका स्थानीयलाई यात्रा गर्न मात्र नभई बजारसम्म पुग्न सजिलो हुने भएको छ । बस पुगेपछि लाप्राकका करिब पाँच सय घरधुरी, गुम्दाका करिब पाँचसय, लप्सीबोट, यमगाउँ, सिङ्लाका बासिन्दाले यातायात सेवा पाउने भएका छन् ।