गोरखा– २०७२ बैसाख १२ पछि खण्डहरझैं बनेको अजिरकोट गाउँ जुर्मुराउन निकै समय लाग्यो। भूकम्पले भत्किएको आर्थिक उर्पाजनको सपना पूरा गर्न अजिरकोट- ३ नम्कीका स्थानीयवासी ३० महिनापछि पुनः जुटेका छन्।
गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न २०७० सालमा थालिएको थियो नम्की होमस्टेको अवधारणा। तर भूकम्पले तहसनहस बनाएपछि निराश बनेका नम्कीवासी अब तंग्रिएका छन्।

भूकम्पपछि कादुरी नाम गैरसरकारी संस्थाको आर्थिक सहयोगमा टिनले बारिएका एकैशैलीका करिब ५० भन्दा बढी घर निर्माण भएको छ। गएको भदौदेखि नम्कीमा निर्माण भएका घरमध्ये १० घर मिलेर होमस्टे सञ्चालन गरिएको सञ्चालक समितिकी उपाध्यक्ष चन्द्रमाया तामाङले बताइन्।
‘गाउँ हेर्ने आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जस्ताको छानामुनि भए पनि खुसीसाथ राख्ने सक्दो कोसिस गरिरहेका छौं,’ उनले भनिन्। नम्कीमा आउने पर्यटकहरुका लागि होम्सटेले स्थानीय उत्पादनलाई प्राथामिकता दिएको उनको भनाइ छ।
अधिकांश तामाङ समुदायको बस्ती रहेको नम्की गोरखाको भच्चेक बजारदेखि करिब ३० मिनेटको पैदल दुरीमा पर्छ। नम्की जान पक्की सडक सुविधा छैन तर यातायातका साधनको सुविधा छ। कच्ची बाटोमा पर्यटकले सामान्य दु:ख भोग्नुपरे पनि नम्कीले यात्राभरिको थकान भुलाउँछन्।
तामाङ संस्कृतिको आकर्षण
होमस्टेमा पुगेका पर्यटकहरुले तामाङ समुदायको संस्कृति झल्कने सेलोसँगै न्यानो आतिथ्यता पाउनेछन्। होमस्टेमा बास बस्न पुगेका आन्तरिक पर्यटकले खान बसेबापत एक रातको ७ सय रुपैयाँ र बाह्य पर्यटकहरुले एक हजार रुपैयाँ तिर्नुपर्नेछ। नम्कीमा पुगेका पर्यटकहरुले चिया बगैंचा, अलैंचीबारी दूधपोखरी, नागेँ पोखरी लगायतका आकर्षक ठाउँको अवलोकन गर्न पाउनेछन्।

होमस्टेमा आउने पाहुनालाई खानामा अर्गानिक र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने गरिएको छ। स्थानीय जातका कुखुरा, खसीबोका, कोदाको रोटी, टिमुर हालेको चिया, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खानाका परिकारको व्यवस्था गरिएको छ।
होमस्टेलाई आधुनिकीकरण गरिँदै लगिए पनि खानका परिकार तथा यहाँका संस्कृतिलाई जगेर्ना गरी स्थानीय उत्पादन, स्थानीय कला संस्कृतिलाई प्राथमिकता दिइने होमस्टे सञ्चालक पर्शुराम तामाङले बताए।
गाउँमा कुनै आर्थिक स्रोत नभएको अवस्थामा पर्यटकीय कार्यक्रम सुरु भएपछि होमस्टेको प्रभावकारिता बढेको अजिरकोट गाउँपालिका प्रमुख फणीन्द्र धिताल बताउँछन्। गाउँमै उत्पादन भएका खाद्यान्न, सागपात, दहीदूध खाने, गाउँका कला संस्कृति हेर्ने परम्परा आथिक समृद्धितर्फको बाटो हुन सकेको छ।
कसरी जाने नम्की?
गोरखा सदरमुकामबाट करिब ४८ किमिको दुरीमा पर्छ नम्की। सदरमुकाम नपुग्दै १२ किलोबाट तपाई छोप्राक-चित्रेपोखरी-चिप्लेटी हुँदै भच्चेक बजारसम्म पुग्न सक्नुहुन्छ। यहाँ जानका लागि दैनिक रूपमा काठमाडौंबाट बिहान ६:३० बजे र गोरखाबाट द्रव्य शाह मार्ग भएर फरकफरक समयमा ३ वटा बस छुट्छन्। अहिले लुङटेल भञ्ज्याङदेखि नयाँगाउँसम्मको सडक भने पक्की बन्दैछ।
तपाईं १२ किलो-चोरकाटे-भालुश्वारा-चनौटे-मुच्चोक हुँदै भच्चेकसम्म पनि पुग्न सक्नुहुन्छ। यो बाटो भने उकालो छ। भच्चेकबजार अजिरकोट गाउँपालिकाको केन्द्र हो। यो बजार ३० वर्षदेखि लगातार व्यापारिक क्षेत्रका रूपमा परिचित छ। अब तपाईं यहाँबाट पैदल जानुपर्ने हुन्छ। अथवा साधन छ भने त्यहाँबाट १० मिनेटमा नम्की पुगिनेछ।
किन जाने नम्की?
अजिरकोट गाउँपालिका वडा न ३ हंसपुरमा पर्ने नम्कीको दुरी काठमाडौंबाट १५० किलोमिटर पश्चिम हो। यो समुद्री सतहबाट १८ हजार उचाइमा छ। जहाँ तामाङ समुदायको बाहुल्य छ।
तामाङ संस्कृति, परम्परा, जीवनशैली र खानपानको अनुभव गर्दै फरक स्वाद मेट्न सकिनेछ नम्कीमा। यहाँका सुन्दर गाउँहरुले तपाईंलाई लोभ्याउनेछन्। हिमालदेखि पहाडको विस्तृत हिमशृंखलाको मनमोहक दृश्य पनि नम्कीबाट देख्न सकिन्छ।