गोरखा– नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराज गलत समयमा नेपाल भ्रमणमा आएको टिप्पणी गरेका छन्।
उद्योग वाणिज्य संघ गोरखाको ४४औं वार्षिक साधारणसभामा सहभागी हुन शनिबार गृहजिल्ला आएका भट्टराईले सदरमुकाममा पत्रकारसँग कुरा गर्दै स्वराजको भ्रमणले झन् अविश्वास बढाएको बताए।
‘पुरानो सरकार बिदा भएर नयाँ सरकार बनाउने बेला छिमेकी मुलुकको विदेशमन्त्रीले भ्रमण गर्दा अनावश्यक राजनीतिक अर्थ लागेको छ’, उनले भने, ‘बेमौसमको भ्रमणले झन् अविश्वासको वातावरण बढाउने र चलखेलको अर्थ लगाउँछ ।’
छिमेकीहरुलाई सन्तुलनमा राखेर नयाँ सरकार गठन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो।साधारणसभा कार्यक्रममा बोल्दै भट्टराईले गोरखामा विकासका पूर्वाधार निर्माण गर्न व्यवसायीहरुलाई आग्रह गरे।
गोरखा क्षेत्र न २ का प्रतिनिधिसभा सांसद समेत रहेका उनले पूर्वाधार विकासका लागि सरकारले नीतिगत सहयोग गर्ने र व्यावहारिक सहयोग व्यवसायीले गर्नुपर्नेमा जोड दिए।