गोरखा– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति गोरखाले पोखराको होटल वाराहीमा दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ।
‘जिल्ला पुनर्निर्माण गोष्ठी’ नाम दिइएको कार्यक्रममा प्राधिकरणले गोरखाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसहितको टोली पोखरा लगेर शनिवारदेखि गोष्ठी गरेको हो।
गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, स्थानीय विकास अधिकारी नारायण आर्चाय, भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापा, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत पोखरामा छन्। उनीहरू प्राधिकरणको खर्चमा त्यहाँ गएको स्रोतको दाबी छ।
प्राधिकरणको केन्द्रले पठाएको ५० हजार रुपैयाँबाट सरकारी र गैरसरकारी संस्थाहरूको समन्वयमा पोखरामा गोष्ठी राखिएको प्राधिकरण गोरखाका सूचना अधिकारी शिवलाल पौडेलले बताए। ‘जिल्लामा काम गर्ने संस्थाहरूले २० देखि ३० हजारसम्म सहयोग गरेका छन्’ उनले भने। गोष्ठीमा करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ।
कार्यक्रमको व्यवस्थापन गर्न केही संस्थाका कर्मचारीहरू शुक्रवार नै पोखरा पुगेका थिए। वाराही होटल पोखराको महँगो टोटलमध्येमा पर्छ।
जिल्लामा भूकम्पको पुनर्निर्माणभन्दा बैठक तथा गोष्ठीहरूमा धेरै रकम र समय खर्च भएको भन्दै आलोचना भइरहेका बेला प्राधिकरण गोरखाले विभिन्न गैरसरकारी संस्थाहरूको प्रायोजनमा गोष्ठी आयोजना गरेको हो।
सूचना अधिकारी पौडेल भने पोखरामा कार्यक्रम गरिनुको कारणबारे भन्छन्, ‘गोरखामा संस्थाका पदाधिकारीहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूले पूरा समय नदिने भएकाले यहाँ कार्यक्रम गरिएको हो।’
दुई वर्षअघिको भूकम्पबाट गोरखामा करिब ६० हजार घर पूर्ण रूपमा भत्किएको र ५ सयभन्दा बढीको ज्यान गएको तथ्याङ्क छ।
भूकम्पपछि गोरखामा भूकम्पपीडितलाई सहयोग गर्ने नाममा थुप्रै दातृ निकायहरू भित्रिए। जिल्लामा अझै पनि ५० हजार निजी आवास पुनर्निर्माण हुन बाँकी रहँदा भूकम्प प्रभावितहरू त्रिपाल र टहरामा बस्दै आएका छन्।
पीडितहरूको नाममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा हुने यस्तो गोष्ठीले रकम मात्र सक्ने गोरखाका नागरिक अगुवाहरू आरोप लगाउँछन्।
‘भूकम्प पीडितहरूले चिसो भुईँमा रात काट्नुपरेको छ। गोरखाको चिन्ता गरेर गोष्ठी त गोरखामा हुनुपर्ने थियो। तर पोखरामा भएको रहेछ भनेर मैले सुनेँ’, नागरिक समाजका अगुवा यदु अधिकारी भन्छन्।
भूकम्पपीडितको नाममा आएको रकम गोष्ठीका नाममा सिआरएस, केयर नेपाल, वर्ल्ड भिजन, अक्सफाम लगायतका संस्थाहरूले आर्थिक प्रायोजनको काम गरेका छन्।