गोरखा– जिल्ला अनुगमन समिति गोरखाले नदीजन्य पदार्थ उत्खनन र बिक्री–वितरणमा कडाइ गर्दै अवैध रुपमा उत्खनन र ढुवानी गरिरहेका स्काभेटर र टिप्पर नियन्त्रणमा लिन थालेको छ।
अवैध रूपमा गिट्टी–बालुवा उत्खनन गरी ओसारपसार गर्दै आएका १६ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो।नियन्त्रणमा लिएका टिप्परलाई जिल्ला समन्वय समितिले कारबाही स्वरुप प्रतिटिप्पर ४० हजार जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरीक्षक भेषराज रिजालले बताए।
अवैध तरिकाले प्राकृतिक सम्पदाको दोहन गर्ने छुट कसैलाई नभएको भन्दै रिजालले राजनीतिक दबावमा प्रहरीले कोही कसैलाई नछाड्ने बताए।गिट्टी–बालुवाको उत्खननमा कडाइ गरेका बेला निर्माण सामग्रीको अभाव हुनसक्ने भन्दै जिल्ला अनुगमन समितिले भूकम्पपीडितहरुले वडा कार्यालयको सिफारिस जिससमा ल्याएर उत्खनन गर्न पाउने छुट दिएको छ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार, नदीजन्य पदार्थको अवैध निकासी र बिक्री–वितरण गरेको सूचना दिनेलाई जरिवाना रकमको २५ प्रतिशतसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ।