गोरखा– सार्वजनिक जग्गा विवादका कारण पोखरमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र पालुङटार नगरपालिकाको च्याङ्लीमा निर्माण हुने भएको छ। तर स्थानीयले जग्गा दिन नमान्दा अन्योल बढेको छ।
सरकारले सात वटै प्रदेशमा एकाएक विशेष आर्थिक क्षेत्र (सेज) बनाउन तयार पारेको मोडालिटीमा एक प्रदेश एक औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारको योजना अनुरूप घोषणा भई बजेट छुट्टिए पनि पोखराको लेखनाथमा बन्ने क्षेत्र जग्गा विवादका कारण गोरखामा सरेको हो।
प्रदेश नं ४ को प्रदेशस्तरीय औद्योगिक क्षेत्र जिल्लाको नगरपालिका वडा न ६ र ८ निर्माण गर्न नगरपालिकाले बैठकले निर्णय गरेको छ। सरकारले केही समयअघि यस स्थानमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि अनुमति दिएसँगै नगरपालिकाले यी वडामा औद्योगिक क्षेत्र राख्न गृहकार्य सुरु गरेको हो।
देश संघीय संरचनामा गएपछि औद्योगिक क्षेत्र निर्माण गर्न सरकारले काम अघि बढाएको थियो। नगर कार्यपालिकाको कार्यालयमा बसेको बैठकले आवश्यक पर्ने जग्गा दिने निर्णय गरेको नगरपालिकाका मेयर इ. दीपकबाबु कँडेलले जानकारी दिए।
पालुङटारको विकासको लागि औद्योगिक क्षेत्र स्थापनाले महत्त्वपूर्ण योगदान दिने भनी सम्भावित जग्गा वडा नं ७ को अवण्डादेखि वडा नं ८ को देवलीघाट, गोप्लिङसम्मको जग्गा दिन सक्ने भनी निर्णय गरिएको उनले बताए।
सो स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्ने भनी निकै लामो समयदेखि बहस हुँदै आएको भए पनि केही दिनअघि प्रतिनिधिसभा क्षेत्र न २ का सांसद डा बाबुराम भट्टराई सहितको टोलीले उक्त स्थानहरूको जग्गाको निरीक्षण गरी सम्भाव्यता अध्ययन समेत सुरु भएसँगै यो काम अघि बढेको कँडेल बताउँछन्।
तर केही स्थानीयवासी भने खेतीयोग्य जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न नहुने भन्दै जग्गा उपलब्ध नगराउन लबिङ गरिरहेका छन्।
खेतीयोग्य जग्गामा उद्योगहरू स्थापना गर्ने र केही बस्तीसमेत उठ्ने भन्दै उनीहरू जग्गा नदिने सोचमा छन्। प्रसाद गुरुङको अध्यक्षतामा बनेको संघर्ष समितिले ज्ञापन पत्र समेत बुझाएको छ।
जनताको जीविका र विकासका लागि नगरपालिकाको च्याङ्लीदेखि धुवाँकोटसम्मको क्षेत्र समेटेर औद्योगिक क्षेत्र निर्माणको लागि आवश्यक पर्ने करिब १० हजार रोपनी जग्गा दिन सक्ने भनी यसअघिको नगरकार्यपालिकाको बैठकले निर्णय गरेको थियो।
मेयर कँडेलले भने राज्यले मुआब्जा दिएर विकासको लागि ल्याइएका योजनाहरू रोक्न कसैलाई छुट नभएको बताए। ज्ञापन पत्र बुझ्ने क्रममा कँडेलले सकेसम्म विकासका कुरालाई नरोक्न अनुरोध गरेका थिए।