गोरखा– भिमसेन थापा गाउँपालिकामा फेरी विवाद सुरु भएको छ । गाउँपालिकाको केन्द्र सम्बन्धी विवादमा यसअघि जिल्ला प्रशासनमा भएको सर्बदलिय बैठकको सहमती कार्यान्वयन नभएको भन्दै असन्तुष्ट पछि आन्दोलनलाई निरन्त्रता दिने निर्णय गरेको छ ।
केन्द्र परिवर्तनको निर्णयसंगै गत माघ ७ गते गाउँपालिका कार्यालयमा ताला लागेपछि जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको बैठकले तीनबुँदे समझदारी गरी आठ गतेबाट ताला खोल्ने निर्णय गरेको थियो।
१८ दिन सम्म चलेको आन्दोलन राजनितिक दलका प्रतिनिधिहरु वीच प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको समन्वयमा बसेको वैठकले तिन बुँदे सहमती गरेपश्चात गाउँपालिका-५ का वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा गठित संघर्ष समितिले आन्दोलनको कार्यक्रम फिर्ता लिएको थियो ।
सर्वाेच्च अदालतमा संघर्ष समितिद्वारा मुद्दा दायर गरेको र सवोच्च ले गाउँपालिका प्रमुखलाई कारण देखाउ आदेश जारी गरेर विचाराधिन रहेको अवस्थामा अदालतको निर्णय सबैले स्विकार गर्नेपर्ने, गाउँपालिका प्रमुख, उपप्रमुख साविक कै केन्द्र बगुवामा उपस्थित भएर सेवा दिने, फाल्गुन २ अगाडी राजनितिक दल वीच वैठक बसी समझदारीको वातावरण निर्माण गर्ने लगायतको कुनै पनि सहमतीको पालना नगरिएको र उल्टै गाउँपालिका प्रमुखले स्थानिय शान्ति सुव्यवस्था भड्काउन उद्धत रहेको आरोप लगाउदै संघर्ष समिति लगायत जिल्लामा क्रियाशिल राजनितिक दलहरुले प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
सर्घ्रष समितिका संयोजक प्रेमचन्द्र श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा, नेकपा एमालेका प्रदिप सिंह क्षेत्री, नयाँ शक्ति पार्टी नेपालका रोहित पाण्डे, नेपाल कम्युनिष्ट पार्टीका दिपक बोहोरा र परिवार दलका रबिन्द्र थापाद्धारा हस्ताक्षरित माघ ४ गते सर्वोच्व अदालतले जारी गरेको कारण देखाउ आदेशको पत्र नबुझेको, बुझ्न गएका कर्मचारीलाई गाउँपालिका प्रमुखले गाली गलौज गरेको, विवाद सुल्झाउन गर्ने भनिएको जिल्ला स्तरिय सर्वपक्षिय बैठक नगरिएको जस्ता कारण देखाउँदै पुर्ण आन्दोलन गर्ने चेतावनी सर्घष समितिको छ ।
जिल्ला सदरमुकामबाट सहमती भंगको घोषणासँगै संघर्ष समितिका स्थानिय युवा कार्यकताहरुले गाउँपालिका कार्यालय तालावन्दी गरेका छन् । सहमतीप्रति प्रमुख ईश्वर पाण्डे वफादार नभएकोले सहमती तोडिएको र भिमसेन वासीहरुले गैरन्यायिक र किर्ते हर्कत विरुद्ध सशक्त आन्दोलन फेरी थाल्ने संघर्ष समितिका संयोजक तथावडाअध्यक्ष प्रेमचन्द्र श्रेष्ठले बताए ।
स्थानीय तहको निर्वाचन भएको ६ महिना भित्र बहुमतले गाउँपालिकाको नाम र केन्द्र हेरफेर गर्न सक्ने कानून प्रावधान छ । सोही अनुसार गाउँपालिकाको नाम समेत परिर्वतन गरेर भिमसेन थापा गाउँपालिका बनाइएको छ ।
नेपाली काग्रेसको बहुमत रहेको भिमसेन गाउँपालिकामा हाल वडा नम्बर ४ बगुवामा रहेको गाउँपालिकाको केन्द्र वडा नम्बर १ ध्याम्पेसालमा सार्ने निर्णय मन्त्रिपरिषदले पारित गरि राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।