गोरखा– प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार बिहान सपथ लिएपछि थप तीन मन्त्रीको सपथ ग्रहण भयो। प्रदेश ४ को बाम गठबन्धन सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्री गुरुङसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रुपमा रामशरण बस्नेतले जिम्मेवारी सम्हालेका छन्।
यस्तै माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा हरिबहादुर चुमन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा लेखबहादुर थापा मगरले सपथ लिएका छन्।मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ स्वीकृत गर्ने निर्णय गरेको उद्योगमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन्।
यसैगरी, चार सदस्यीय प्रदेश सरकारको पहिलो बैठकले प्रदेश ४ लाई समृद्ध र गतिशील बनाउने केही बाचाहरु गरेको छ।
-५ वर्षभित्र अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्ने,
-उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत सबैका घरमा विद्युत् विस्तार गर्ने,
-५ वर्षभित्रमा प्रदेशका सबै स्थानीय तहको केन्द्रसँग प्रदेश राजधानीको सडक पहुँच विस्तार गर्ने,
-स्थानीय तहसँगको समन्वयमा २ वर्षभित्र प्रत्येक गाउँ र बस्तीमा शुद्ध पिउने पानीको व्यवस्थापन गर्ने,
-प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने,
-विभिन्न जाति जनजातिको पहिचान झल्किनेगरी बहुसांस्कृतिक ग्राम (मल्टिकल्चरल भिलेज) स्थापना गर्ने,
-सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्नका लागि विद्युतीय सुशासनमा जोड दिने,
-५ वर्षभित्र अन्तर्राष्ट्रियस्तरको खेलमैदान निर्माण गर्ने।