गोरखा– जिल्लालाई यहि फाल्गुन १६ गते एक औपचारीक कार्यक्रमको आयोजना गरी पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लाका सबै शिशुहरुमा खोपको पहुँच पुगेसंगै जिल्ला स्वास्थ्य कार्यालय गोरखाको व्यवस्थापनमा फाल्गुण १६ गते जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी थालिएको हो ।
सवै नगरपालिका र गाउँपालिकाका वडाहरुले पुर्णखोपयुक्त घोषणाका लागी आवश्यक सवै मापदण्ड पुरा गरिसकेकोले जिल्लालाई नै पुर्ण खोप जिल्ला घोषणा गर्न लागीएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका महिला स्वयमसेविकाहरु,स्वास्थ्यकर्मी लगाएतको समन्वयमा १ वर्ष मुनिका बालबालिकाको सुचि अद्यावधीक तथा १२ देखी १३ महिनाका बालबालीकाको घरधुरी सर्वेक्षणका क्रममा जिल्लामा खोप लगाउने उमेरका सवै बालबालिकाले सवै प्रकारका खोप पाईसकेको पाईएकोले जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी गरिएको हो ।
बलबालिकामा रोगहरुको संक्रमण हुन सक्ने भन्दै राज्यले निशुल्क रुपमा खोपको व्यवस्था गर्दै आईरहेको छ । जन्मेदेखी २ वर्षको उमेरका बालबालिकालाई विसीजि, विसिभि, डिपीडि, सिविडी, पोलीयो, दादुरा, रुवेला, जापनिज ईन्सिफ्लाईटिस लगाएतका खोपहरु अनिवार्य दिनुपर्दछ ।
घोषणा सभा भव्य बनाउन तामझाम
जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने कार्यक्रमलाई तामझाम पुर्ण बनाउनका लागि जिल्ला जनस्वास्थ्य प्रमुख पराजुली नेतृत्वको समितिले जिल्लामा क्रियाशिल संघ सस्था सँग पनि मोटो रकम बार्गे्लिङ गरिहेको संघसस्थाहरुले मुख खोलेका छन् ।
‘हामीसँग सहयोग गर्ने ठाउँ छैन, टाइट बजेट छ, जनस्वास्थ्यबाट सहयोग गर्नुप¥यो भनेर भनेर दबाब आइरहेको छ’ जिल्लामा क्रियाशिल एक एनजिओकर्मीले भने ।
घोषणा सभाका लागि क्षेत्र नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रुपमा पहिलो पटक गोरखा आउँदै छन् । साथमा अन्य मन्त्रिहरु समेत कार्यक्रम सहभागी हुने स्रोतको भनाई छ । घोषणा सभाका लागि गाउँरगाउँबाट ५ हजार भन्दा बढि दर्शक सहभागी गराउने जिल्ला जनस्वास्थ्य कार्यालयको योजना छ ।
‘पाहुनाहरु आउनुहुन्छ, स्वागत संस्कार गर्नुप¥यो,गाउँबाट बसमा सहभागीहरु आउँछन्, मञ्च बनाउनु प¥यो, पानी चिया खाजा गर्दा त्यती खर्च त लागि हाल्छ नी’ जिल्ला जनस्वास्थ्य प्रमुख केदार पराजुलीले भने ।
‘नेपाल सरकारको निति अनुसार हामीले सबै प्रक्रिया पुरा गरेर औपचारिक घोषणा मात्र गर्न लागेका हौं’ पराजुलीले भने । उक्त कार्यक्रमका लागि जिल्ला जनस्वास्थ्यले ११ लाखको बजेट बनाएको छ ।
कार्यक्रमलाई सहयोग गर्न स्थानिय तहलाई जनस्वास्थयको पत्र
जिल्ला जनस्वास्थ्यले कार्याक्रमलाई सहयोग गर्न गोरखा ११ वटै स्थानिय तहलाई पत्र पठाएको छ । कार्यालयले प्रत्येक ९ वटा गाउँपालिका र २ वटा नगरपालिकालाई पत्र पठाएको हो । पत्रमा गाउँपालिकासँग ५० हजार र नगरपालिकासँग १ लाख मागिएको छ । कार्यक्रमका लागि कार्यालयले २ लाख बजेट छुट्याएको छ भने स्थानीय तहहरु जिल्ला स्वास्थ्यले रकम मागेपछि स्थानीय तहका प्रमुखहरुले सशंकित भएका छन ।
‘लाभालस्कर मान्छे बोलाएर कार्यक्रम गर्ने कुरामा धार्चे गाउँपालिका सहमत छैन्, अनुत्पादक काममा पैसा खर्च गर्ने योजना छैन्, त्यसका लागि हामी पैसा दिन सक्दैनौं’ धार्चे गाउँपालिकाका प्रमुख सन्तबहादुर गुरुङले भने ।
मुल समारोह समिति गुरुङ
पुर्ण खोपयुक्त घोषणाका लागि जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको संयोजकत्वमा मुल समारोह समिति बनाइएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्लाका सुरक्षा अङ्गका प्रमुखहरु, जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुखहरु लगायतका सरोकारवालाहरु सहभागी छन् ।