गोरखा- पालुङ्टार नगरपालिकाको च्याङ्लीमा बन्ने भनिएकाे औद्योगिक क्षेत्र निर्माणबारे धेरै चर्चा परिचर्चा रसुदन अधिकारी बहस तथा जग्गा उपलब्ध गराउन नसक्ने भन्दै संघर्ष समिति समेत गठन गरी आन्दोलनहरु भइरहँदा प्रदेश सरकारले भने आफूहरुलाई केही जानकारी नभएको बताएको छ ।
गत माघ २५ गते बिहिबार पूर्वप्रधानमन्त्री तथा सांसद बाबुराम भट्टराई, प्रदेशसभा सदस्य हरिशरण आचार्य, मेयर दीपकबाबु कँडेल, औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेत, उपमेयर पम्फा बसेल, वडा नं ७ का अध्यक्ष वसन्त श्रेष्ठ लगायतको टोलीले स्थलगत अध्ययन र छलफल गरी पालुङ्टार ७ को ज्याक्दीखोलादेखि ८ को हजारीफाँटसम्मको करिब दस हजार रोपनी जग्गा औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडलाई दिने निष्कर्ष निकालिएको भन्ने समाचार बाहिरिए थियाे ।
स्थानीयहरु आफूहरुलाई थाहै नभई यस्तो कार्य गर्न लागेकोमा विरोध गर्दै र आफूहरुको बसोबास नै उठने भन्दै औद्योगिक क्षेत्रको लागी जग्गा नदिने भनी माघको २९ गते च्याङ्लीका श्रीबहादुर गुरुङको नेतृत्वमा संघर्ष समिति गठन गरी स्थानीयबासीको थातथलो उठाएर, खेतीयोग्य जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न दिन नसकिने व्यहोराको ज्ञापनपत्र तयार गरी नगरप्रमुख कँडेल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत समक्ष पेश गरे ।
स्थानीयहरु विभिन्न चरणमा छलफल र बहस गर्दै फागुन १५ गते विहान नागास्थानमा सयौंको संख्यामा उपस्थित भएका स्थानीयहरुले जग्गा दिन नसक्ने व्यहोराको ज्ञापन पत्र बुझाउन प्रदेश नं. ४ को कार्यालय पोखरा पुगे । पोखरामा पुगेर प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाए ।
ज्ञापन पत्र बुझ्दै गुरुङले यसबारे आफूहरुलाई केही थाहा नभएको बताए । गुरुङले जग्गा अवलोकन गर्ने काम भएको सुन्नमा आएको भएता पनि प्रदेश सरकारलाई थाहा नै नदिइकन त्यस्तो काम गर्नु ठीक नभएको र नगरपालिकालाई त्यस्तो अधिकार नभएको समेत बताएको संघर्ष समितिका राजीव पन्तले बताए ।
सोही अवसरमा उद्योग मन्त्री तथा सरकारका प्रवत्ता समेत रहेका रामशरण बस्नेतले आफू जिल्लाबासी समेत भएको भएता पनि आफूलाइ समेत केही थाहा नभएको बताए । सोही क्रममा मुख्यमन्त्री गुरुङले सरकारले केही निर्णय गरेको भए हामीलाई पनि जानकारी गराउनुपथ्र्याे केही जानकारी गराएको छैन, केही त्यस्तो विशेष निर्णय गरेको रहेछ भने भोलि मन्त्रालयमा बुझ्नेछु ।
सरकारले औद्योगिक क्षेत्र निर्माणको निर्णय गरेको र यसको कार्यान्वयनका लागी नगरपालिका लागेको नगरप्रमुख इ. कंडेलले बताएका छन ।तर, स्थानीयहरु आफूहरुसंग केही जानकारी नै नगराई एकोहोरो ढंगबाट अघि बढेका कारण संघर्षमा उत्रिनु परेकाे बताउँछन ।
उनीहरु आफ्नो जग्गा उद्योग निर्माणको लागी नदिने भनी आन्दोलित भएका छन ।
केही स्थानीयहरु भने उचित मुआब्जा र व्यवस्थापनको ग्यारेण्टी भएमा उद्योग निर्माणमा आफूहरुले अवरोध नगर्ने बताउँछन । वडा नंं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले उचित मुआब्जा र व्यवस्थापन भएमा अवरोध गर्न नहुने बताएका छन्।