गोरखा- १२ वैशाख २०७२ मा गएको भूकम्पको त्रास अहिलेसम्म नै ताजै छ । बारपाक–सुलिकोट गाउँपालिका–२ बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ९ रेक्टरस्केलको भूकम्पले गोरखामा मात्रै ६० हजार घर ध्वस्त पारेको थियो भने ४७२ जनाको ज्यान लिएको थियो ।
भूकम्पले धनजनको क्षति त ग¥यो नै विकासमा केही फड्को मार्नसमेत सहयोग ग¥यो । गोरखामा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भीड नै लागेको थियो । २ सय संस्थाले राहत र विकासका लागि सहयोग गरेका थिए । यी संस्था गोरखाबाट बिदा भइसकेका छन् ।
भूकम्पको केन्द्रबिन्दु बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । यहाँ १ हजार ३०१ घर भत्किएका थिए । अहिलेसम्म ९३८ जनाले दोस्रो किस्ता र ५४३ जनाले तेस्रो किस्ताबापतको रकम बुझिसकेका छन् । बारपाकमा अहिले निजी आवास पुनर्निर्माणको काम धमाधम भइरहेको छ । विगतमा ढुंगाको छानो र ढुंगाकै गारो भएका एकै स्वरूपका परम्परागत मौलिक घरका लागि पहिचान बनाएको बारपाक पुनर्निर्माणपछि भने फेरिएको छ ।
यसैगरी, लाप्राकमा भूकम्पपीडितका लागि गैरआवासीय नेपाली संघको सहयोगमा नमुना बस्ती निर्माण भइरहेको छ । लाप्राकको पुरानो बस्ती पहिरोको जोखिमका कारण बस्नै नमिल्ने भएपछि लाप्राककै गुप्सीपाखामा ५७३ घरको निर्माण कार्य भइरहेको छ ।
निर्माण सम्पन्न गरेर छिट्टै हस्तान्तरण गर्ने लक्ष्य राखिएको भए पनि भौगोलिक विकटता तथा मौसमी प्रतिकूलताका कारण काममा ढिलाइ भएको संघका साइड इन्जिनियर कर्फुराम रञ्जितकारले बताए । उनका अनुसार आगामी दसैंसम्म निर्माण सम्पन्न गरी स्थानीयलाई घर हस्तान्तरण गरिने लक्ष्य लिइएको छ ।
गोरखा जिल्लामा मात्रै पुनर्निर्माणको काममा ४० वटा संस्था क्रियाशील भए । सन् २०१८ मार्चपछि गोरखामा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू मात्रै क्रियाशील छन् । उनीहरूले भूकम्पयता गरेको खर्च विवरण अर्बाैं देखिए पनि अहिलेको अभिलेख छैन ।
जिल्ला आएका एनजीओ आईएनजीओहरूले राहत तथा पुनर्निर्माणमा चासो दिएको भए जिल्लाका करिब ४० हजार भूकम्पपीडित भूकम्प गएको ३७ महिनासम्म पनि चिसो भुइँमा रात कटाउनुपर्ने बाध्यतामा नहुने स्थानीयहरू बताउँछन् । गोरखा पुनर्निर्माणको गति सोचेअनुसार नभए पनि विकासमा सकारात्मक प्रभाव परेको छ ।
स्वास्थ्य संस्थाबाहेक अन्य क्षेत्रको पुनर्निर्माणको नतिजा सन्तोषजनक देखिँदैन । सरकारले घर बनाउन ३ लाख रुपैयाँको अनुदान दिने भने पनि त्यसको झन्झटिलो प्रक्रियाले पीडित झनै पीडित छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याकंअनुसार ६१ हजार ३१६ लाभग्राही रहेको गोरखामा ५२ हजार ४४८ घर निर्माणाधीन अवस्थामा छन् । तीमध्ये ४२ हजार ६४७ जनाले दोस्रो किस्ताका लागि आवेदन दिएकोमा ४२ हजार ८९ जनाले रकम नै प्राप्त गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
यसैगरी, १६ हजार ५०८ लाभग्राहीले घर निर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता माग गरेकोमा १५ हजार ९७० जनाले पाइसकेका छन् ।
एनआरएनएले लाप्राकको गुप्सीपाखामा एकीकृत नमुना बस्ती र भीमसेन–५ बगुवामा एकीकृत मिलन बस्ती गरी २०७४ सालभित्र दुई चर्चित नमुना बस्ती निर्माणको कामले गति लिएको छ । लाप्राकमा गत वर्ष नै निर्माण कार्य सक्ने भनिए पनि हालसम्म काम भइरहेको छ । बगुवामा केही समय अघिबाट घर निर्माण कार्य सुरु भएको छ ।
यसैगरी, भूमिहीन भूकम्पपीडितले लालपुर्जा नभएका कारण घर बनाउन पाएका छैनन् । लाभग्राही सूचीमा नाम समावेश नभएका भूकम्पपीडितले पनि घर बनाउन सकेका छैनन् । प्राधिकरणले गरेको पुनर्सर्वेक्षणको नजिता सार्वजनिक नहुँदा उनीहरू अझै अन्योलमा छन् । स्थानीय तहमार्फत उनीहरूको गुनासो सम्बोधन गर्ने भनिए पनि अहिलेसम्म उक्त कुरा आधिकारिक रूपमा बाहिर आएको छैन ।
विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणमा झन्डै शतप्रतिशत नजिता निस्किएको छ । भूकम्पले भत्काएका ५५ वटा स्वास्थ्य चौकीमध्ये ५२ वटा निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ । अब माछीखोला, लाप्राक, आरुवाङ स्वास्थ्य चौकी निर्माण सम्पन्न भई हस्तान्तरणको क्रममा रहेको छ ।स्वास्थ्यमा बनेका अधिकांश अस्थायी प्रकृतिको संरचना बनेका भए पनि अहिलेको आवश्यकतानुसार पर्याप्त छ ।
भूकम्पले भत्काएका विद्यालय भवन पुनर्निर्माणको काम अन्य क्षेत्रको तुलनामा निकै उच्च देखिएको छ । निजी आवास अनुदानमा ६० प्रतिशत प्रगति हुन नसकेका बेला झन्डै ८५ प्रतिशत विद्यालय भवन पुनर्निर्माण भएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
भूकम्पले ४ हजार २४७ कक्षा कोठा पूर्ण रूपमा भत्काएकोमा हालसम्म २ हजार ३७३ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी, २ हजार १९५ कक्षा कोठा पुनर्निर्माणको काम भइरहेको छ ।
भूकम्पपछि जिल्लामा सरकारी र सघंसंस्थाको प्रयासमा करिब ८ हजार खानेपानी आयोजना निर्माण गरी १६ हजारभन्दा बढी घरमा धारा जोडिएको छ ।
गोरखा दरबार पुनर्निर्माणमा ढिलाइ
गोरखा दरबार भत्काएको लामो समय भइसक्दासमेत पुनर्निर्माण सुरु हुन सकेको छैन । पुरातŒव विभागको लापर्बाहीका कारण निर्माण लथालिंग भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । चैतअघि नै जग हालेर निर्माण सुरु गर्ने बताए पनि पुरातŒवले पटकपटक भाका सार्दै आइरहेको छ ।
‘हामीले झुटो कुरा बोलेजस्तो भएको छ तर वास्तवमा त्यस्तो होइन, महत्वपूर्ण अध्ययनहरू गर्नुपरेकाले केही ढिला हुन गएको हो,’ विभागकी पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले भनिन्, ‘यद्यपि मन्दिर भत्काउने क्रममा जगमुनि प्वाल देखिएपछि अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन यसअघि नै बुझाइसकेको छ ।’भूकम्पका कारण क्षति पुगेको उक्त दरबार जगैदेखि भत्काएर पुनर्निर्माण गर्नुपर्ने पुरातात्विककाे निर्णयका कारण जग भत्काइएको थियो । दरबार भएको ठाउँमा ठूला खाल्डा खनेर राखिएकाले बर्खामा आएको पानी पसेर त्यहाँका अन्य संरसचनामा समेत क्षति पुग्न सक्ने खतरा बढेको छ ।
विभागले काम सुरु हुन नसकेको स्वीकार गर्दै आवश्यक तयारी गरिरहेकाले केही ढिलाइ भए पनि अब काम सुरु हुने जनाएको छ । ‘आज आवश्यक सामान सबै लैजान्छौं भनेर ठेकेदारले भन्नुभएको छ, अब केही दिनमा काम सुरु भइहाल्छ,’ भण्डारीले भनिन् ।
४० हजार बढी दोस्रो किस्ताका लागि योग्य
जिल्लाका ४० हजार ७०७ लाभग्राही दोस्रो किस्ताका लागि योग्य भएका छन् । पहिलो किस्ताबापत पाएकोे ५० हजारले घरको डीपीसी गरी अरू काम अघि बढाएका उनीहरूलाई दोस्रो किस्ता दिन सहरी आवास तथा भवन डिभिजनले जिल्ला समन्वय समितिमा सिफारिस गरेको हो । तीमध्ये ३५ हजार ९७३ को खातामा दोस्रो किस्ता गएको छ ।
३५ हजार ३६५ लाभग्राहीलाई नेपाल सरकार र ६०८ लाभग्राहीलाई संघसंस्थामार्फत रकम पठाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयकी सन्तोषी लामिछाने जानकारी दिइन् । ५६ हजार ७२६ लाभग्राही रहेको गोरखामा १४ हजार १७६ लाभग्राहीले घर निर्माण गरी तेस्रो किस्ता दाबी गरेका छन् ।
उनीहरूमध्ये ११ हजार १७३ ले घर निर्माण सम्पन्न गरी तेस्रो किस्तासमेत पाइसकेका छन् । १० हजार ७२७ लाभग्राहीलाई नेपाल सरकार र ४५६ जना विभिन्न संघसस्थामार्फत तेस्रो किस्ता प्रदान गरिएको हो । यसअघि सरकारले समयसीमा निर्धारण गरेर निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिएसँगै घर बनाउने क्रम पनि बढेकाले यो तथ्यांक केही दिनमा अझ बढ्ने प्राधिकरणले बताएको छ ।
अनुदान पाउनै सास्ती
आवास पुनर्निर्माणको अनुदान पाउन झन्झटिलो प्रक्रियाका कारण भूकम्पपीडितले सास्ती खेप्नुपरेको छ । गोरखाको दुर्गम उत्तरी चुमनुब्री गाउँपालिकाका बासिन्दाहरू अनुदानको किस्ता लिन सात दिनसम्म हिँडेर गोरखाको आरुघाट आउन बाध्य छन् । पाँच दिनभन्दा बढी समय लगाएर आरुघाट आए पनि बैंकमा पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
विद्यालय टहरामै
आर्थिक स्रोतको अभावमा भूकम्पका कारण क्षतिग्रस्त ८० वटा विद्यालयको पुनर्निर्माण अझै हुन सकेको छैन । भूकम्पका कारण जिल्लामा ५१३ वटा विद्यालय भवन भत्केका थिए ।
विद्यार्थीको संख्याको आधारमा विद्यालयलाई समायोजन गरेपछि पुनर्निर्माण गर्नुपर्ने ४४३ विद्यालयमध्ये हालसम्म २३१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भइसकेको छ । १५० विद्यालयको भवन निर्माणाधीन रहेको र ८० वटा विद्यालय भवन पुनर्निर्माणका लागि स्रोत नै जुट्न नसकेको जिल्ला कार्यान्वयन एकाइले जनाएको छ ।
भौगोलिक कठिनाइ, पूर्वाधार, निर्माण सामग्री तथा जनशक्तिको अभाव एवं सरकारको ढिलासुस्तीका कारण पुनर्निर्माणको कार्य सन्तोषजनक ढंगबाट अघि बढ्न सकेको छैन, जसको प्रत्यक्ष असर परेको स्थानीयको गुनासो छ ।
कमजोर नीति तथा स्थानीय तहको फितलो समन्वयका कारण पनि धेरै पीडित हालसम्म पनि टहरामा बस्न बाध्य छन् । कतिपयलाई त भत्किएको घर नै टालटुल पारी बस्नुपर्ने बाध्यता छ । अन्योलको अवस्थामा बस्न बाध्य पीडितहरू भन्छन्, ‘भूकम्पले दिएको पीडामा सरकारले थप पीडा थपिदिएको छ ।’
भूकम्पले ध्वस्त पारेका र केही भवन विस्तार गरेका गरेर २७५ विद्यालयको भवन निर्माणाधीन रहेको पुनर्निर्माण प्राधिकरण गोरखाका प्रमुख वेदप्रसाद आचार्यले जानकारी दिए । त्यस्तै, खानेपानीका ५१६ आयोजना गोरखा भूकम्पले ध्वस्त पारेको थियो ।
अहिलेसम्म ३२२ वटा आयोजनाका पुनः सञ्चालनमा आइसकेका छन् । ७५ आयोजना निर्माणाधीन छन् भने ११९ वटा आयोजना पुनर्निर्माण गर्न भनेर प्रस्ताव आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख रत्नप्रसाद लामिछानेले जानकारी दिए ।