गाेरखा– बिगत लामो समयदेखि गोरखामा सञ्चालित पेट्रोलपम्पले मापदण्ड पूरा नगरेको पाइएको छ । कलस आयल स्टोर्सको नाममा हरमटारीमा रहेको पेट्रोलपम्पले नेपाल आयल निगमले तोकेका कतिपय मापदण्ड पूरा नगरेको पाइएको हो ।
सडकभन्दा २५ मिटर परको दुरीमा मात्रै पम्प सञ्चालन गर्न पाईने मापदण्डमा उल्लेख छ साथै पम्प अगाडी रहेको जमिन कालोपत्रे(पिच) हुनु पर्ने मापदण्डमा छ ।
तर सो पेट्रोल पम्प आसपासको जमिनमा कालोपत्रे गरिएको छैन । पम्पमा आउने सेवा ग्राहीलाई अनुकुल हुने गरी सौचालयको ब्यबस्था गरिनुपर्ने कानुनी ब्यबस्था रहेपनि उक्त पम्पमा त्यस्तो पाईदैन् ।
पम्पका सञ्चालक सितलकाजी मास्के भने आफूले पम्प स्थापना गर्दाकै मापदण्ड अनुसार अहिले पनि सञ्चालन गरिरहेको बताउँछन् ।
‘मैले यहाँ पम्प २०५० सालदेखि सञ्चालन गरेको हो’ मास्के भन्छन् ‘त्यतिखेर जस्तो मापदण्ड थियो त्यसै अनुसार पम्प चलाइरहेको छु । पुरानो मापदण्ड अनुसार स्बीकृत भएर पम्प चलाएका कसैले पनि नयाँ मापदण्ड लागु गरेका छैनन् ।
यहाँ मात्रै हैन मुग्लिनका पम्प तथा अन्य ठाउँका बिभिन्न पम्प पनि मापदण्ड अनुसार चलेकै छैनन् ।’ २०५२ सालभन्दा अगाडिदेखि सञ्चालनमा आएका पम्पलाई नयाँ मापदण्ड अनुसार पम्प चलाउन आयल निगमले समेत निर्देशन नगरेको मास्केको दावी छ ।
आफुले २०४२ सालको मापदण्ड अनुसार पम्प सञ्चालन गरेकाले त्यसपछि बनेका मापदण्ड अनुसार पम्प नचलाएको मास्केले स्वीकार गरे ।
आफुलाई नयाँ मापदण्डहरुसबै थाहा भएर पनि सरकारको आदेश नआएकाले लागु नगरेको मास्केको भनाइ छ ।
‘सबैले मापदण्ड अनुसार पम्प कहाँ चलाएका छन् र ?’ मास्केले भने ‘आयल निगमले नयाँ मापदण्ड ल्याए पनि हामीलाई अनिबार्य लागु गर्न आदेश दिएको छैन् ।
बिनाआदेश मापदण्ड नयाँ आएको सुचनाकै भरमा किन पम्प चलाउनु प¥यो ?’ मापदण्ड अनुसार नै पम्प सञ्चालन गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नियमभित्र ल्याउन निर्देशन दिने बताए ।