गोरखा- सहिद लखन गाउँपालिका–३ मनकामना निभारेका स्थानीय होमस्टे सञ्चालनको तयारीमा जुटेका छन् । उनीहरू आफ्नो क्षेत्रमा आउने पर्यटकलाई आफ्नो लोक संस्कृति देखाएर स्वागत गर्ने योजनामा छन् ।
२०७२ सालमा गएको भूकम्पले ध्वस्त भएको निभारे गाउँ अहिले होमस्टेका माध्यमले पर्यटनको विकासका लागि जुर्मुराएको छ । जिल्लामा फस्टाउँदै गएको होमस्टेले भूकम्पपीडितलाई राहत दिँदै जान थालेपछि निभारे पनि होमस्टेका लागि अग्रसर भएको हो ।
गोरखा पर्यटकीय, रमणीय अनि धार्मिक स्थल भए पनि यहाँका धार्मिक स्थानमध्ये प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना र त्रिवेणी बराहीका बीचमा रहेको निभारे गुरुङ बस्ती हो । अहिले यस गाउँमा होमस्टे सञ्चालन गर्न युवाहरू विशेष रूपमा सक्रिय भएर लागेका छन् ।
सबैतिरबाट बेवास्ता भएपछि स्थानीय बासिन्दा होमस्टे सञ्चालनका लागि जुटेका हुन् । घर पुनर्निर्माण हुने क्रम सुरु भएको छ । हरेक घरधुरीमा दुईदेखि चारवटा खाटको व्यवस्था गरिएका छन् ।
उनीहरूले अहिले होमस्टे सञ्चालनका लागी १५÷१६ घर निर्धारण गरेका छन् । गाउँमा नै रहेको सामुदायिक भवनका साथै कालिका आमा समूह, कालिका युवा समूह र कालिका बाबा समूहलगायतको सहकार्यमा उनीहरू होमस्टे सञ्चालनको तयारीमा लागेका हुन् ।
‘खानामा दाल, भात, तरकारी, लोकल कुखुराको मासु, ढिँडो, खाजामा मकै भटमास र गुन्द्रुकको स्वाद पाहुनाले चाख्न पाउँनेछन्,’ होमस्टेका लागि मनाेज गुरूङ भन्छन् , ‘गुरुङ समुदायको संस्कृति पाउदुरे, मारुनीलगायत नाचसँगै साँझ सांस्कृतिक कार्यक्रम गरिनेछ ।’
स्थानीय जातका कुखुरा, खसीबोका, कोदाको रोटी, टिमुर हालेको चिया, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खानाका परिकारको व्यवस्था गरिने बताइएको छ ।
पर्यटक भित्र्याउने नै भएपछि खानेपानी, पैदलमार्ग मर्मत सुधार, आवास गृह निर्माण गर्न र अतिथिसम्बन्धी तालिमको आवश्यकता रहेको कलाकारसमेत रहेका पुथ्बी गुरुङ बताउँछन् ।
३१ घरधुरी रहेको यस गाउँमा वैशाख पूर्णिमामा नचाउने सती घाटु नाच, घाटुको भोजमा लगाउने चुड्का (कौडा) यहाँको प्रचलित संस्कृतिभित्र पर्दछन् । यस गाउँमा प्रसिद्ध कालिका देवी भगवतीको मन्दिर रहेको छ । यसबाट धार्मिक पर्यटकलाई आकर्षण गर्न सकिने सम्भावना रहेको छ
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन बजार हुँदै त्रिशूली नदी तरेर मनकामना माईको कान्छी बहिनी त्रिवेणी भगवतीको दर्शन गरेर रमाइलो गुरुङ गाउँ करन्टार हुँदै करिब एक घण्टाको पैदलयात्रामा निभारे गाउँ पुग्न सकिन्छ ।
विकासको लहरसँगै जहाँतहीँ खुलेका मोटर बाटोले पनि यस गाउँलाई जोडेको छ । अहिले त्रिवेणी हुँदै मनकामनासम्म गाडीबाटै यात्रा गर्न सकिन्छ । मस्र्याङ्दी जलविद्युत् योजना बनेसँगै यस गाउँमा बिजुली पनि पुगेको छ ।