गोरखा- अजिरकोट गाउँपालिकाको वडा नं. ३ हंसपुर र ५ मुच्चोकका वडा सचिव १० महिनादेखि बेपत्ता भएका छन् । २०७४ साउनको ५ गते वडा नं. ३ वडा अध्यक्ष तयाराज गुरुङसंग चार दिनको बिदा मागेर हिँडेका वडा सचिव दीपकबाबु दर्जी अहिलेसम्म कार्यालयको सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ ।
सचिवले नै गर्नुपर्ने पञ्जिकरण लगायतको कामहरू अहिले वडाबाट हुन नसकेको वडा अध्यक्ष गुरुङले बताए । ‘मसँग साउनको पाँच गते चार दिनको लागि बिदा चाहियो भनेर बिदा मागेर हिडेंका हुन्,’ गुरुङले भने, ‘नौ गते म जसरी पनि हाजिर हुन्छ । अहिले बिदा दिनु प¥यो भनेपछि मैले बिदा दिएँ। त्यसपछि एक पटक पनि सम्पर्क हुन सकेको छैन ।’
दर्जीलाई फोन गर्दा गर्दा वडा अध्यक्ष गुरुङ आजित भएका छन् । म त फोन गर्दा गर्दा आजित भएको छु’ उनले भने ‘फोन उठाउन छोडेपछि म्यासेज त कति गरेँ गरेँ। तर म्यासेजको रिप्लाई नै आउँदैन ।’ सचिव नहुँदा पञ्जिकरण कामहरू, बसाइँसराईको सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता लगायतको कामहरू प्रभावित भएको छ । पञ्जिकरणको काम सचिवले नै गर्नुपर्ने कार्यविधि रहेको छ ।
जिल्लामा वडा सचिवको अभावले सामाजिक सुरक्षा भत्ता समेत दिन नसकेको गाउँपालिका प्रमुख फणीन्द्र धिताल बत्ताउँछन् । वडा सचिव गत साउनको ५ गते वडा नं. ३ वडा अध्यक्ष गुरुङसँग चार दिनको बिदा मागेर हिँडेका दर्जी अहिलेसम्म कार्यालयको सम्पर्कमा आएका छैनन् ।
जिल्लामा २ नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।
९४ वटा वडा कार्यालयमा ९४ वटौ वडा सचिवको आवश्यकता भएता पनि एउटै सचिवले ३÷४ वटा सम्म वडा हेर्नु परेको उनीहरू बत्ताउँछन् । जिल्लामा अहिले ३१ जना वडा सचिव कार्यरत रहेको जिल्ला समन्वयन समितिले जानकारी दिएको छ ।
दुई करोड ९० हजार भन्दा बढीको बेरुजु
वडा सचिव दर्जी दुई करोड ९० हजार ३२० रुपैयाँ ३५ पैसा हिनामिना गरेर १० महिनादेखि फरार छन् । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणका क्रममा खर्चको कुनै पनि कागजात नदेखिएपछि खर्च भएको सबै रकम उनको नाममा बेरुजु राखिएको जिल्ला समन्वय समिति गोरखाले जनाएको छ ।
दर्जीको नाममा आर्थिक वर्ष २०७२÷०७३ र २०७३÷०७४ को दुई करोड ९० हजार ३२० रुपैयाँ ३५ पैसा बेरुजु देखिएको हो । त्यसमा सामाजिक सुरक्षा भत्ता, गाविस अनुदान र अन्य पुँजीगत खर्च बेरुजु देखिएको छ ।
स्याङ्जाको साबिकको रुपाकोट गाविस वडा २ घर भएका दर्जीलाई हाजिर हुन आउन पत्र पठाए पनि उनी आएनन्। उनी हुलाकमार्फत वडा सचिवको जिम्मा लिएर अजिरकोट आएका थिए। निजामती सेवा ऐन, २०४९ अनुसार ९० दिनभन्दा लामो समयविना जानकारी कार्यालयमा अनुपस्थित हुने कर्मचारी स्वतः पदमुक्त हुने व्यवस्था रहेको छ ।
ऐनको व्यवस्थाअनुसार दर्जीको जागिर गइसकेको छ’, जिल्ला समन्वय समितिका प्रशासकीय अधिकारी नारायण आचार्य भने । उनी सम्पर्कमा नआएपछि सरकारी सम्पत्ति असुलउपर गर्ने प्रक्रिया अघि बढेको छ ।