गोरखा– नेपालकै एक मात्र रबर उद्योगका रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ ।
गोरखा नगरपालिका-१४ मझुवामा ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग विगत ३ वर्षदेखि बन्द रहेको छ । विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो ।
तीन वर्षदेखि उत्पादन बन्द भएको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सरकारले तयारी गरेको छ । उद्योग सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले कमिटीको प्रतिवेदनका आधारमा उघोग सञ्चालनको तयारी सरकारले गरेको छ ।
प्रदेश ४ कै ठूलो उद्योग सञ्चालनमा आएमा आर्थिक समृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा छ । उद्योगमा आबद्ध कर्मचारीलाई अवकाश दिन लाग्ने खर्च र उद्योग सञ्चालनका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न उद्योग मन्त्रालयले कमिटी गठन गरेको उद्योगका कामु महाप्रबन्धक दिनेशकुमार बर्तौलाले बताए ।
‘उद्योगमन्त्री मातृका यादवसँग भएको छलफलमा बन्द रहेको रबर उद्योगलाई सञ्चालन गर्न पहल गर्ने आश्वासन पाएका छौँ ।’ उनले भने। सरकार अथिर भएका कारण उद्योग सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ । ०४२ मा स्थापना भएको सो उद्योग ०७१ मा बन्द भएको थियो । सो उद्योग ६ सय ७२ रोपनीमा स्थापना गरिएको छ ।
किन बन्द भयो उद्योग ?
चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन उत्पादन क्षमता, चर्काे ब्याजदर लगायतका कारणले उद्योग विगतदेखि समस्यामा पर्दै आएको थियो ।
बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिःपर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको छ ।
टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरु भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो ।
उद्योग सञ्चालन गर्ने मन्त्रीको घोषणा
उद्योगमन्त्री यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चःतरको व्यापारघाटा तथा बेरोजगारीलाई न्यून गर्दै लैजाने बताएका छन् । राष्ट्रियसभाको आईतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय उत्पादन सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रकारका तालीम सञ्चालन एवं प्रविधि हस्तातरण गर्ने कार्य भइरहेको तथा चिया, कफी अलैँची, अदुवाजस्ता निर्यातजन्य वस्तुलाई प्रवद्र्धन गरिने बताए ।
घाटा मात्रै २० करोड रुपैयाँ
गोरखकाली टायर उद्योगले उत्पादन गरेका टायरहरू विदेशबाट आयातीत टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगको उत्पादन पूर्ण रूपमा ठप्प रहेको छ । उद्योगमा कुल २४१ जना कर्मचारी कार्यरत रहेका छन् । उद्योगको उत्पादन ठप्प भएदेखि कर्मचारीहरूले तलबसमेत पाउन सकेका छैनन् ।
तर, ती कर्मचारीले कार्यालयमा उपस्थिति हाजिर भने लाउने गरेका छन् । उद्योगका प्रबन्ध निर्देशक बार्तौलाका अनुसार उद्योगमा कार्यरत कर्मचारीलाई विगत २७ महिनादेखि तलब उपलब्ध गराइएको छैन । उद्योगको तलबबापतको घाटा मात्रै २० करोड रुपैयाँ नाघिसेको छ ।
१० करोडको कच्चापदार्थ भण्डारमै
उद्योगमा करिब १० करोडको कच्चापदार्थ भण्डारमै रहेको छ । उद्योग सञ्चालनमा आए केही दिनका लागि भण्डारमै रहेको कच्चापदार्थले पुग्नेछ ।
२८ करोड लगानी
गोरखकाली रबर उद्योगमा सरकारको ३८ प्रतिशत लगानी छ । त्यस्तै २१ प्रतिशत समुदाय र बाँकी साल्ट टे«डिङलगायतका संस्थान र बैंकहरूको लगानी छ । उद्योगमा सरकार, समुदाय, संस्थान र बैंकहरू गरी २८ करोड लगानी रहेको कामु महाप्रबन्धक बर्तौलाले बताए ।
उद्योगका सामान बिग्रिदै
उद्योग सञ्चालनमा नरहेपछि बिग्रिने र हराउने समस्या हुन थालेको छ । उद्योगमा जडान गरिएको सिसिक्यामेरा बिग्रँदा सामग्रीहरू असुरक्षित भएका हुन् । सामग्रीहरूसमेत बिग्रिन थालेको कर्मचारीले बताए । लामो समयसम्म उद्योगका सामग्री प्रयोगमा नल्याउँदा खिया लाग्ने, बिग्रने र जाम हुन लागेका छन् ।