गोरखा– गोरखाका कच्ची सडकहरुमा मनोमानी रुपले भाडा असुली गरेको गुनासो बढेको छ । गोरखामा रहेका ९ कच्ची सडकखण्ड अन्र्तगत ११ किलो भालुश्वाँरा सडक खण्ड, १२ किलो, छेवेटार, चोरकाटे हुदै भच्चेक सडकखण्डमा बढि मात्रामा यात्रुसँग मनोमानी भाडा असुल गरेको गुनासो आएको हो ।
ट्राफिक प्रहरीको मिलेमत्तोमा जिपको मनोमानी
अहिले १२ किलो बजारमा दैनिक करिब २० का हाराहारीमा जिपहरू पाइन्छ । यिनीहरूले प्राय भच्चेक, हर्मी, छोप्राक लगायतका स्थानमा जाने आउने गर्छन् । प्राय जसो भच्चेक चल्ने जिपले प्रत्येक यात्रु १ हजार भनेर चढाउछन् ।
१२ किलो बजारबाट चोरकाटे, छोप्राक, धारापानि र भच्चेकमा प्रहरी भएता पनि उनिहरूलाइ कसैले केहि भन्दन्, नाम नबताउने सर्तमा एक यात्रुले भने । यिनिहरूले १२ किलोमा रहेका ट्राफिक प्रहरीलाइ केहि मात्रामा पैसा दिन्छन् ।
चढ्यो की हजार
‘बस चल्न छोडिगयो, जिपले चढ्ने बित्तिकै एक हजार देखि १५ सय रुपैयाँसम्म भाडा माग्छ’ गोरखाको सिरानचोक गाउँपालिका २ थालाजुङ्गमा भेटिएका सन्त बहादुर गुरुङ्गले भने ।
केही दिन यता परेको अबिरल वर्षापछि गोरखाको छोप्राक, थालाजुङ्ग हुँदै भच्चेक, १२ किलोबाट बारपाक लगायतका कच्ची सडकहरुमा जिप व्यवसायीको मनोमानी सुरु भएको छ । अहिले १२ किलो बजारमा लाम लागेका जिपहरुले यात्रुबाट मनपर्दी भाडा असुल्ने गरेका छन् ।
‘चित्रेपोखरी, थालाजुङ, धारापानी, भच्चेक जहाँ झरे पनि १ हजार भाडा लिन्छ’ धारापानीमा भेटिएकी सिरानचोक १ कि कालीमायाँ गुरुङले भनिन् ।
यसअघि गोरखा यातायातबाट सञ्चालित बसहरुले उक्त सडकमा यात्रा गर्दा १२ किलोबाट भच्चेक बजारसम्म प्रतिव्यक्ति २२० रुपयाँ मात्र भाडा लिने गर्थो । अहिले जिप व्यसायीहरुले त्यसको ४ गुणा बढि लिने गरेको पाइएको छ ।
रातो नम्बर प्लेटका जिपहरूको मनोमानी
रातो नम्बर प्लेट रहेका जिपहरूले विना अनुमति प्रहरीकै अगाडि एउटा जिपमा १० जनासम्म यात्रु कोचेर ल्याउने लैजाने गरिरहेको छ। वर्खा लागेसँगै कच्ची सडकमा गुढ्ने सार्वजनिक बसहरू थन्किएपछि जिपहरूको मनोमानी बढेको हो।
यातायातको अन्य बिकल्प नभएपछि जोखिम मोलेरै भए पनि जिपमा यात्रा गर्न बाध्य भएका यात्रुले भाडादर भने साह्रै बढी भएको गुनासो गरेका छन्। ‘यस्तो बाटो छ । ५०० सम्म त ठिकै हाे। तर हजाररहजार भन्छ’ उनले भने। यसरी जिप व्यवसायीहरूले मनोमानी गर्दा पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नियमन निकायले वास्ता गरेको छैन।
यता व्यसायीहरूले भने यात्रुलाई सुविधा दिन जोखिम मोलेरै भए पनि जिप चलाएको दाबी गरेका छन्। आफ्नो लगानीलाई जोखिम राखेर सुविधा दिएको उनीहरूको दावी छ। हरेक दिन १२ किलोचोक भन्दा केही अगाडि झण्डै एक दर्जन जिपहरू यात्रुको प्रतीक्षामा बसिरहेका भेटिन्छन्।
जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले भने यात्रु ठगिएको जानकारी पाए कारबाही गर्ने बताउँछन्।
सार्वजनिक सवारीसाधन व्यवस्थित गर्न कच्ची सडक भए पनि मापदण्ड हेरेर ‘रुट पर्मिट’ को व्यवस्था गरिएको छ ।
९ वटा सडकलाई ‘रुट पर्मिट’ कायम कायम भएको छ । भच्चेक, बारपाक, आरूघाट, मनकामना, पालुङटार जोड्ने मुख्यःमुख्य कच्ची सडकमा ‘रुट पर्मिट’ लागू गरिएको हो ।