गोरखा- साउन १ गतेका दिन परेको अविरल वर्षाका कारण गएको बाढीले काट्न ठीक भएको धान अधिकाँश डुवानमा परेको छ । किसानहरुले जिल्लाको लुदी खोला फाँटमा लगाएको जुडी धान थन्क्याउन नपाएका हुन् ।
साउने सक्राति मानेर २ गते धान काट्न खेताला खोजेको थिए, साउन १ गते आएको बाढीले पाकेको धान लगेको छविसे फाँटका किसान झक बहादुर अर्यालले बताए । साउने सक्रान्ति मानेर २ गते धान काट्न खेतला खोजेको थिएँ काट्ने दिनमा धान खेत बगरमा परिणत भएको उनले बताए ।
खेतमा रहेको माटो समेत नराखी बगाएपछि पुनः रोपाई गर्न सक्ने अवस्था समेत नरहेको अर्का किसान रत्न बहादुर थापा बताउँछन् । २०११ साल पछि ठूलो बाढी यस वर्ष आएको शहिद लखन गाउँपालिका वडा नं. १ का सदस्य समेत रहेका किसान गोविन्दराज खनाल बताउँछन् ।
लुदी फाँटमा खेत रहेका किसानहरुको चार हजार रोपनी भन्दा बढी खेत बगरमा परिणत भएको उनको भनाई छ । गोरखाका लुदीखोलाका फाँट लगायत सिर्दी, भुसुण्डे, अँधेरी, सुकौरा खोलामा भएको बाढीका कारण धेरै धानबाली नष्ट भएको छ । पाकेको धान, रापेको खेत, रोप्न तयार भएका विउका व्याड सबै बगाएपछि किसानहरु मर्कामा परेका छन् ।
गोरखा सदरमुकाबाट नजिक रहेका फाँटहरुको अवलोकनका लागि प्रदेशका मन्त्रीहरु पुगेपछि दुरदराजका फाँटहरुमा कसैले जानकारी सम्म लिएका छैनन् । शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको बसोबास भएको क्षेत्र रहेको वडा नं. ६ स्थित तीनघर गाउँ नै पहिरोको जोखिम परेपछि अध्यक्ष थापा सहित गाउँलेहरु नै टहरोको बासमा परेका छन् ।
अध्यक्ष थापाले आफ्नो गाउँपालिका भित्र के कति क्षति भयो तुरुन्त जानकारी दिन वडा अध्यक्षहरुलाई निर्देशन दिएको उनले बताए । वडा अध्यक्षहरुले किसानहरुलाई आफ्नो क्षति विवरण दिन माग गरिसकेको बताएका छन् ।
किसानहरुका धानखेत बगरमा परिणत भएपछि ढुंगा, गिटी, बालुवा तस्कर गर्नेहरु रातभरी खोलामा ट्याक्टर लिएर पुग्ने गरेको स्थानीयहरुले बताएका छन् ।