गोरखा – जिल्लामा सञ्चालन भईरहेका हजारौँ ब्यापारीक प्रतिष्ठानहरुले सरकारलाई राजश्व नतिर्ने गरेको पाईएको छ । घरेलु तथा साना उद्योगमा दर्ता नभई सञ्चालनमा आईरहेका ब्यापारीक प्रतिष्ठानहरुले राजश्न नतिर्ने गरेका हुन् ।
आर्थिक गणना कार्यालयले हालसालै सार्वजनिक गरेको तथ्याङ अनुसार जिल्लामा दस हजार नौसय ७५ ब्यापारीक प्रतिष्ठान भएपनि घरेलु तथा साना उद्योगमा भने आठ सय ११ प्रतिष्ठान मात्रै दर्ता भएको पाईएको छ ।
‘हाम्रो कार्यालयमा अहिलेसम्म उद्योग तर्फ तीनसय ८८ र बाणिज्य तर्फ भने चारसय २३ उद्योग दर्ता भएका छन्’ घरेलु तथा साना उद्योग गोरखाका प्रमुख उद्योग अधिकृत माधबप्रसाद काफ्लेले भने ‘हामीले प्राय शनिबारका दिन ब्यापारीक प्रतिष्ठानहरुको अनुगमन गर्ने गरेका छौँ ।
अनुगमन गर्दा दर्ता नभएका प्रतिष्ठानहरुलाई दर्ता गर्न आदेश दिन्छौँ ।’ गोरखामा समयसमयमा ब्यापारीक प्रतिष्ठानहरुको अनुगमन भएपनि मापदण्डमा नरहेका कुनै पनि प्रतिष्ठानहरुलाई कारवाहीको गरेको पाइदैन ।
‘कतिपय ब्यापारीहरुलाई आफ्ना पसल उद्योगमा दर्ता गर्नुपर्छ भन्ने थाहा पनि नभएको पाईयो’ उनले भने ‘दर्ता गरेका कतिपयले समयमै नबिकरण पनि गरेका छैनन् ।’ गोरखामा रहेका आठ सय ११ प्रतिष्ठान मध्ये अहिलेसम्म तीनसय ५४ ओटा बाणिज्यहरु नबिकरण नभएको काफ्लेले बताए ।
‘यहाँ हरेक पाँच पाँच बर्षमा नबिकरण गर्नु पर्छ’ उनले भने ‘नबिकरण गर्ने म्याद सकिएको एक महिनासम्म जरीवाना नदिई नबिकरण गर्न पाउँछन् । म्याद सकिएको तीन महिनासम्म दोब्बर दस्तुर र एक बर्षसम्म तेब्बर दस्तुरमा नबिकरण गर्न पाउँछन् । तर, म्याद थपिएको एक बर्षसम्ममा पनि नबिकरण नगरेमा कानुनी कारवाही अघि बढ्छ ।
तीनीहरुलाई हामीले दर्ता गर्दैनौँ ।’ कार्यालयका अनुसार खाद्य समाग्री बिक्री गर्ने भनेर दर्ता भएका किराना पसलहरुमा सुर्तीजन्य तथा मदिरा बिक्र बितरण गर्न पाउँदैनन् । तर, गोरखा बजारका कतिपय किराना पसल तथा खाजा घरहरुले मापदण्ड बिपरीत सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री बितरण गरीरहेका छन् ।
‘कहिकतै एउटा चिज बेन्छु भनेर दर्ता गर्ने अनि अर्काे चिज बेच्ने गरेको पाईएको छ’ काफ्लेले भने ‘हामीले त्यसरी नियम बिपरीत काम गर्नेलाई मापदण्डमा बसेर बिक्री बितरण गर्न सात दिनको म्याद दिन्छौँ । त्यो म्याद भित्र उसले गल्ती सुधारेमा ठिक छ नभए हामी अर्काे कारवाहीको प्रकृया अघि बढाउँछौँ ।’
आर्थीक बर्ष २०७४÷२०७५ मा उद्योग दर्ता गरेको र नबिकरण गरेको बापत घरेलु तथा साना उद्योग कार्यालयमा कुल ६७ लाख ४६ हजार चारसय रुपौया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।