काठमाडौं – गायका/गायिकाहरुलाई हिजोआज तीजको रौनकले छोएको छ । नेपाली नारीहरुको विशेष पर्व तीज नजिकिँदै गर्दा धमाधम तीज गीतहरु बजारमा आइरहेका छन् ।
तर, तनहुँ, धरमपानीकी गायिका केशु गुरुङलाई भने यतिखेर कौराले छोएको छ । उनी कौरा गाउनमै व्यस्त छिन् ।
‘केही दिनमै बुकी फूल बोलको कौराको भिडियो बनाउँदैछु’ स्वास्थ्यकर्मी समेत रहेकी केशुले भनिन्, ‘एक साताअघि नै भिडियो बनाउने सोच थियो, तर समय मिलेन ।’
आफूलाई ‘कौरा गायिका’का रुपमा स्थापित गर्ने क्रममा रहेकी केशु भन्छिन्, ‘अहिले सिजन त तीज गीतको छ । तर, अहिलेसम्म मैले तीज गीत गाएकी छैन ।’
यसो भन्दैमा केशुलाई तीजले नछोएको चाहिँ होइन । ‘अरु महिलाजस्तै मलाई पनि तीजमा नाँच्न गाउन मनपर्छ’ केशुले भनिन्, ‘तर, तीजमा व्रत बस्ने र तीजकै लागि भनेर मठमन्दिर पनि जाँदिनँ । जाने मन भए जुनैबेला पनि जान्छु । आस्थाचाहिँ छ ।’
गायनबाहेक अधिकांश समय स्वास्थ्य सेवामै व्यस्त हुने केशुले भनिन्, ‘तीजमा व्रत बसेर भनेजस्तो, खोजेजस्तो पति पाइन्छ भन्ने विश्वासचाहिँ लाग्दैन । आत्माले रुचेको टन्नै खाने हो, म मान्छे नै विन्दास खालकी छु ।’
उनले जीवनमा अहिलेसम्म कुनैदिन व्रत नबसेको सुनाइन् । ‘एक जना व्रत बस्ने अनि अर्को व्यक्तिको कसरी दीर्घायु हुन्छ ?’ विवाहित महिलाले व्रत बस्दा पतिको दीर्घायू हुन्छ भन्ने विश्वासप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘यो त म बिहे गर्छु, तिमी छोरा जन्माइदेउ भने जस्तै भयो नि ।’
केशुले गायनसँगै मोडलिङ पनि गर्दै आएकी छन् । उनले गाएका अधिकांश गीतमा उनै मोडल छिन् । यसपटक पनि उनी ‘बुकी फूल’मा आफै मोडलिङ गर्दैछिन् ।