काठमाडाैँ- उर्जामन्त्री वर्षमान पुनले आजबाट विद्युतीय गाडीको प्रयोग गर्ने भएका छन् । उर्जामन्त्रालयको कार्यभार सम्हालेलगत्तै पुनले विद्युतीय सवारीसाधनहरूको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए ।
पेत्रिलियम पदार्थबाट चल्ने गाडीको तुलनामा कम खर्चिलो र वातावरणमैत्री हुने भएकाले उर्जामन्त्रीले यस्तो निर्णय गरेका हुन् । हाल उर्जामन्त्रीले उनी चढ्ने गाडी चीनमा निर्मित BYD e6 रहेको छ । उक्त गाडी गत जनवरीमा नेपाल भित्रिएको हो ।
नेपालमा ५० लाख देखि ६३ लाखको हाराहारीमा मूल्य पर्ने उक्त गाडीको निर्माता कम्पनीका अनुसार यसमा २ हजार पटक चार्ज गर्न मिल्ने ब्याट्री राखिएको हुन्छ र एक पल्ट चार्ज गर्दा यो गाडी ३ सय देखि ४ सय किलोमिटरसम्म गुड्न सक्छ ।
कार्यभार सम्हाले लगत्तै मन्त्री पुनले श्वेतपत्र जारि गर्दै उक्त दस्तावेजको ७२ नम्बर बुँदामा विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र क्षमता सवारी साधनको आयातको ५० प्रतिशत पुऱ्याइने बताइएको थियो।
श्वेतपत्रमा निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र सो को उपयोगलाई प्रोत्साहन गर्ने सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिने र यस कार्यमा निजी क्षेत्रलाई समेत सहभागी गराइने बताइएको थियो।
पूर्व अर्थ सचिव समेत समेत रहेका रामेश्वर खनालले पनि यस्तै गाडी चढ्ने गरेका छन् ।