चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय महिला हिंसा अत्याधिक बढेको बताएका छन्। निर्माण व्यवसायी संघ चितवनको २५औं साधारण सभालाई भरतपुरमा सम्बोधन गर्ने क्रममा प्रचण्डले महिला माथि हुने गरेका हिंसाका घटनालाई अाफूले गम्भीरताका साथ लिएको बताए।
प्रचण्डले देश नयाँ संरचनामा गइसकेकाले केही समस्याहरू थपिएको पनि दाबी गरे। प्रचण्डले राज्यले व्यवसायीलाई र व्यवसायीले राज्यलाई आरोप प्रत्यारोप गर्ने प्रवृत्ति रहेको टिप्पणी गरे।
उनले भने, ‘राज्यले व्यवसाय गर्ने ठग हुन् भन्दै कस्दै आएको थियो,’ उनले थपे, ‘त्यसको प्रतिउत्तरमा राज्यलाई भुस्याहा,कामचोर हुन् भन्ने अर्को मानससिकता थियो।’ राज्य आफैं पारदर्शी भइदिएको भए यस्तो स्थिति नहुने पनि उल्लेख गरे।
प्रचण्डले लगानी प्रतिफलको सुनिश्चित नहुने अवस्थामा विदेशी लगानी आउनै नसक्ने दाबी गरे। निर्माण व्यवसायीको नविकरण एक वर्षमा गर्नुपर्ने पक्षमा पनि आफू रहेको बताए। निर्माण क्षेत्रमा केही व्यवसायीको एकाधिकार(सिन्डिकेट) रहेको स्वीकार गर्दै त्यस्तो अधिकार सहजै तोड्न सकिने पनि दाबी गरे।
त्यसैगरी ठूला ठेकेदारसँग कर्मचारीतन्त्रको साँठगाँठ रहेको हुनाले यस्तो प्रवृत्तिको अन्त्य गर्न सकिने औंल्याए। देशमा राजनीतिक संक्रमण अन्तिम चरणमा रहेको बताउँदै उनले आर्थिक निर्माणको महाअभियानको चुनौती अझैसम्म रहेको पनि बताए।
उनले नेपालीहरू अग्लो हुनुपर्ने सबै चिज नेपालसँग भएपनि राजनीतिक तथा ऐतिहासिक विरासत बचाउन नसकिएको बताए। राज्यले केही क्षेत्रमा करको भार बढाएकाले कर प्रणाली सबै ठिक भए भन्ने पक्षमा आफू नरहेको बताए। ‘सुन्न पनि अफ्ठ्यारो लाग्ने गरी कतिपय वस्तुमा कर लगाइएको सुन्नमा आएको छ,’ उनले भने, ‘त्यो ठिक होइन, हामी कर प्रणालीको समीक्षामा छाैँ।