गोरखा– जिल्लाको धार्चे गाउँपालिका वडा न ६ काशिगाउँका दुई गर्भवती महिलाको मंगलबार विहान सिम्रीक हेलीकोप्टर मार्फत उद्धार गरिएको छ ।
काशिगाउँकी ३५ वर्षकी माइली गुरुङ्ग र २६ वर्षकी कसमायाँ गुरुङ्गको सिम्रीक हेलीकोप्टर मार्फत उद्धार गरी काठमाडौँ लगिएको छेकम्पारका धावा लामाले जानकारी दिए ।
लगातार बेथा लागेको र रगत बग्ने समस्याले गाउँमै सुत्केरी गराउन सम्भव नभएपछि हेलीकोप्टर मार्फत काठमाडौँको थापाथली हस्पिटलमा लगिएको धावाले टेलिफोनमा जानकारी दिए ।
गर्भवती महिलालाई चार्टर गर्न हेलीकोप्टरको भाडा एक लाख ६० हजार खर्च भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको आमा सुरक्षा कार्यक्रमले बेहोर्ने जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नानीबाबु दानीले जानकारी दिए ।
यस अघि पनि केरौँजा र चुम्चेतका महिलाहरु सुत्केरी हुन नसकेर छटपटाइरहेको अबस्थामा उनै धावाले जिल्ला जनस्वास्थ्य कार्यालयको आग्रहमा हेलीकोप्टर मार्फत उद्धार गरेका थिए ।
गर्भवती दुई महिला मध्ये माइली गुरुङ्गले यस अघि नै दुई सन्तानलाई जन्म दिइसकेकी छन भने कसमायाँ पहिलो पटक गर्भवती हुन् ।
बेथा लागे सँगै काशीगाउँ स्वास्थ्य चौकीमा पुर्याउँदा उनीहरु दुबैलाई स्वास्थ्य चौकी प्रमुख दुल प्रसाद राना र त्यहाँ स्वास्थ्य सम्बन्धी काम गरिरहेको फेस नेपाल नामक गैरसरकारी संस्थाका नर्सहरु अन्जना बानिँया र रिता जिरेलले उनीहरुको उपचार गरेका थिए ।
गर्भवती महिलाले हेलिकप्टर चार्टर गरेबापत लाग्ने शुल्क स्वास्थ्य मन्त्रालय अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले तिर्ने कार्यालयका दानीले बताए ।
‘हिमाली क्षेत्रमा सुरक्षित मातृत्व कोष छ, त्यही कोषबाट सरकारले खर्च गर्छ,’ उनले भने । सडक सञ्जालको अभावमा उत्तरी गोरखाका स्थानीयहरु विभिन्न समस्या भोग्न बाध्य छन् । स्वास्थ्यसँगै शिक्षा, रोजगारजस्ता राज्यले दिने सेवाबाट उनीहरु बञ्चित छन् ।