काठमाडौं- गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ संचालन गर्न संभव आयआर्जनका कार्यक्रमबारे राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले संघका केन्द्रीय पदाधिकारीहरुसँग अाग्रह गरेकाेे छ ।
पुर्ननिर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने भएकोले बस्ती पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गरेका हुन् ।
उनले बाँकी कार्यको निश्चित समयरेखा निर्माण गरी कार्य गर्न र त्यहाँ आर्य आर्जनको पनि योजना बनाउन पनि सुझाव दिए ।
‘प्राधिकरणले पुनर्निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएकोले लाप्राकको एकीकृत बस्ती पुनर्निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुशरणयोग्य हुनेछ’ ज्ञवालीले भने ।
पुनर्निर्माणको कार्य शीघ्र सम्पन्न गर्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोगका लागि प्राधिकरण तयार रहेको समेत उनले उल्लेख गरे ।
एनआरएनएका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका बाबजुद लाप्राक पुनर्निर्माण कार्य शीघ्र सम्पन्न गर्न एनआरएनए नेतृत्व कटिबद्ध रहेको दावी गरे ।
उनले भौतिक पुनर्निर्माण सकिएपछि होमस्टेसहितका पर्यटन प्रबद्र्धन, विभिन्न कृषि तथा पशुविकासका कार्यक्रमहरुको बारेमा योजना बनाइएको प्राधिकरणलार्इ जानकारी गराए ।
छलफलमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धुव्रप्रसाद शर्मा र डा. चन्द्र बहादुर श्रेष्ठ, एनआरएनका महासचिव डा. बद्री केसी, लाप्राक बस्ती पुनर्निर्माणका परियोजना निर्देशक सुभाष अधिकारीलगायतको पनि सहभागिता थियो ।
लाप्राकमा एनआरएनएले भूकम्प प्रभावितका ५७३ घरहरु निर्माण गरिरहेको छ ।