०७२ वैसाख १२ र २९ गते गएको विनाशकारी भुकम्प पश्चात नेपाली समाजमा छाएको मित्रता अनि सहिष्णुताले वास्तवमा भन्ने हो भने वयान गरेर साध्य नै थिएन ।
विभिन्न कारणले ३० औं वर्षसम्म अलग अलग रहेका र बोलचाल समेत बन्द भएका एकाघर परिवारका सदस्यहरुलाई समेत मिलन गराउने र एउटै थालमा खाना खाने माध्यम बन्यो गोरखा भुकम्प ०७२ ।
समाजमा मेलमिलाप थियो, जीवन चिनेका थिए जनताले, भुकम्प पश्चात समाजमा एक अर्कामा दुःख सुख बांड्ने गरिन्थ्यो भने अधिकांंशमा तेरो र मेरो भन्ने भावना घटेर गएको थियो ।
सामाजिक अनि मानविय भावना विकास हुदै भुकम्प पछिका दिनहरुमा सामाजिकता र मानवियता अनि व्यवहारिकता अति नै बढेको र समाजमा सामाजिक, जातिय, धार्मिक सहिष्णुता मौलाएको पाइन्थ्यो तर नेपाली समाजले यसलाई टिकाइ राख्न असफल भयो जसको कारण थियो करिब दुई दशक पछि भएको स्थानीय निकाय निर्वाचन अनि लोकतान्त्रिक असहिष्णुणता ।
अन्यौल अन्यौलका विच होला या नहोला भन्दा भन्दै भुकम्प जस्तै गरी २०७४ वैसाख ३१ र असार १४ गते भएको स्थानीय निकाय निर्वाचनले नेपाली नागरिक समाजमा हलचल ल्यायो ।
खुसी र उमंग ल्यायने तर यसको विपरित भुकम्प पाश्चात बनेको नेपाली समाज निर्वाचनको माहौल ताते पश्चात फोहोरी राजनीतिक सोंचका कारण लगभग ध्वस्त नै भएको छ ।
निर्वाचन लोकतन्त्रको गहना हो भन्ने जग जाहेर भएर पनि राजनीतिक प्रतिशोधका कारण भुकम्पले मिलाएको नेपाली समाजलाई विक्षिप्त पार्ने काम भयो ।
अहिले हाम्रो समाज राजनीतिक उग्रता अनि व्यग्रताले धु्रविकृत भएको छ । मानवता, सामाजिकता, सामाजिक मुल्य मान्यता, कर्तव्य अनि व्यवहारिकता जस्ता कुराहरु हराएर जान थालेको छ । समाजमा जुनसुकै विषयवस्तुलाई समेत राजनीतिसंग जोडेर हेर्ने गरेको पाईन्छ ।
समाजमा हुने सामाजिक संस्कारहरु विवाह, ब्रतवन्ध, न्वारन, पाश्नी, जस्ता जन्म मृत्युका संस्कारहरु एक अर्कामा सहयोग गर्ने र भेटघाट हुने माध्यम हुन जसले समाजभित्र मित्रता र प्रगाढ सम्बन्ध बढाउने गर्दछ ।
तर निर्वाचन पश्चात लोकतन्त्रको दुहाई दिने स्थानीय राजनीतिज्ञ भनाँउदाहरुवाट नै यस्ता परिपाटीहरुलाई तोड्ने र जुनसुकै घटना विशेषलाई समेत राजनीतिसंग जोड्ने तथा सामाजिकरुपले बहिष्कार गर्ने गराउने गरेको पाईन्छ भने यस्ता स्थानीय नेताहरुवाट के समाजमा समानुपातिक र न्यायसम्मत तरिकावाट विकास योजनाहरु आउलान् वा जनताले राहत पाउन सक्लान् त ? राजनीति भनेको स्वतन्त्र विचार प्रस्तुत गर्ने थलो हो ।
जसमा कुनै पनि प्रकारको दबाबले प्रभाव पर्नु हुदैन । तर हाम्रो समाजमा सामाजिक नेतृत्वका सन्दर्भमा, विकास योजनाका सन्दर्भमा मात्र नभई आफ्नो योग्यता अनुरुपको जागिर खाने सन्दर्भमा त यसै नै राजनीतिक छाता ओडेको आधारमा हुने गरेकोमा त कोहि कसैलाई भन्नै नपर्ला । तर यहां त राजनीतिले संस्कार हरायो, मानवियता, व्यवहारिकता, दया, माया, करुणा, अनि बहुलबाद हराएर गयो ।
जिउंदाको जन्ति र मर्दाको मलामी भन्ने समाज र छिमेकी नै अहिले टुक्रियको अवस्थामा छ । राजनीतिक आस्था भन्दा पनि निर्वाचनमा फरक मत राखेको आधारमै आज एक अर्कामा सामाजिक बहिष्कार गर्ने परिपाटी बढेको छ ।
विवाह गर्दा समेत राजनीतिक विचार वा आस्था नमिले अस्वीकार गर्ने, संस्कारजन्य कार्यहरुमा बहिष्कार गर्ने, गाउंमा पानी पधेरा बन्द गर्ने, गर्दै आएको सहयोग रोक्ने, अनेकन टिका टिप्पणी गर्ने, षड्यन्त्रका तानावाना बुन्ने, मेलापात,बनपात, निमेकधिमेक, भारा पर्म समेत बन्द भइ आवत जावत नै बन्द भएको देख्दा अचम्म लागेको छ ।
के यहि होला त लोकतान्त्रिक अनि बहुलबादको उदाहरण ? के यहि हो नागरिक स्वतन्त्रता र समाजबादको नारा ? यो त आफ्नो निहित स्वार्थ पूरा गर्न मात्र गरिएको फोहोरी चरित्रको राजनीति भन्ने स्पष्ट हुन्छ । यसमा सवै सचेत हुन जरुरी छ कि राजनीति एउटा विचार हो र निर्वाचन एउटा आवधिकरुपमा आउने पर्व हो भन्नेमा ।
निर्वाचन आयो, भयो, एउटा परिणाम जनताले दिएको म्याण्डेट अनुरुप प्राप्त भयो तर यसैको आधारमा उग्र राजनीतिक तुष राख्ने हो भने के यसले लोकतन्त्रको गन्ध दिन सक्छ त ?
अन्त्यमा,
यहि तरिकावाट सामाजिक बहिष्कार गर्दै जाने हो भने अर्को निर्वाचनमा जनताले कस्तो जवाफ देलान् त भन्ने हेक्का गर्न जरुरी छैन ?
हारेर अत्तालिएको र जितेको उन्मादको आधारमा फेरि जनताका सामु यस्तै चरित्र देखाउने हो भने किन लोकतन्त्रको दुहाइ दिन्छौ नेता ? के संविधानको पानामा मात्रै खोज्ने बहुलबादी संस्कृति नेपाली जनताले अब ?