गाेरखा- उत्तरी गाेरखाकाे सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनामा परेकाे छ ।
मनास्लु क्षेत्रमा पर्यटकहरु छाडेर फर्किँदै गरेको कल साइन ९एन–एएलएसको हेलिकोप्टर धादिङमा दुर्घटनामा परेकाे हाे। हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।
चुमनुब्री गाउँपालिकाको १ र २ नम्बरको सीमा क्षेत्रमा पर्ने सानागाउँबाट फर्किँदै गरेको हेलिकोप्टर शनिबार बिहान धादिङमा दुर्घटना भएकाे विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जनाएका छन् ।
बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने गोरखाको सामागाउँबाट काठमाडाैँ उडेको हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेका थिए । महाप्रबन्धक क्षेत्रीका अनुसार यात्रुले ‘हेल्लो’ भनेको मात्रै सुनिएको थियो ।
अल्टीच्यूट एयरका अनुसार, शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो। उक्त हेलिकप्टर क्याप्टेन निश्चल बस्नेतले उडाएका थिए।
गाेरखाकाे सामागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा सम्पर्कविहीन भएको थियो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।गोर्खाको चुमनुब्री गाउँपालिकाको सानागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।