गोरखा- नेपाल र चीनको तिब्बत जोड्ने गोरखाको ‘स्यात्ला’ नाकाबाट अवैध सुन ओसार प्रसार गर्ने गरेको खुल्न आएको छ । सोही नाकाको मार्ग हुँदै गत शनिबार काठमाडौँ लैजादै गरेको १० किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि सो नाकाबाट सुन तस्कर हुदैँ आएको तथ्य खुलेको हो ।
जिल्लाको चुननुब्री गाउँपालिका–३ फिलिम प्रहरी चौकीको चेकपोष्टमा सुरक्षा जाँचका क्रममा लुकाइछिपाइ ल्याइएको १० किलो सुन प्रहरीले बरामद गरेको हो । बरामद सुनको बजार मूल्य चार करोड ९३ लाख बराबर छ ।
प्रहरीका अनुसार छिरिङले गलबन्दीभित्र सुन राखी बाहिरबाट सिलाएर कम्मरमा बेल्ट जस्ता बनाएर ५ किलो सुन र सात तोलाको दुई थान कुन्दरा, १ तोलाको दुई थान टप अवैधरुपमा चीनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ ।
छिरिङसँगै रहेका लोप्चनले रातो झोलामा ५ किलो सुन बोकेको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिए । गत शनिबार पक्राउ परेका उनीहरुलाई दुई दिन लगाएर प्रहरीले सिर्दिवासबाट सदरमुकाममा ल्याएपछि सोमबार सार्वजनिक गरेको छ ।
दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको जोङ बजार पुगेका छिरिङ र लोप्चनको स्थानीय व्यापारी च्याङचिनसँग चिनजान भएको थियो । च्याङचिनले काठमाडौं सुन पु¥याएवापत तीन हजार घुर्मु (नेपाली ५० हजार) दिने सहमति भएपछि उनीहरुले सुन ल्याएको प्रहरीको दावी छ ।
‘काठमाडौंका व्यापारीले फोन गर्छन् भनेर हाम्रो नम्बर राखे, उनीहरुको नम्बर हामीलाई दिएनन्,’ छिरिङ र लोप्चनले प्रहरीसँगको बयानमा भने । सडक सञ्जाल नपुगेको छेकेम्पारका स्थानीय स्यात्ला नाकाबाट तिब्बतीयन बजारमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि जाने गरेका छन् ।
खुल्ला सिमानाका कारण अवैध तरिकाले सामान ओसार पोसार हुन सक्ने आशंकमा स्थानीय प्रशासनले हेलिकप्टर चेकिङमा कडाइ गरेको छ । हेकिलप्टरमा कडाइ गरेपछि पैदल मार्ग भएर सुन ओसारपोसार हुन थालेको आशंका गरिएको छ ।
जिल्लामा पहिलो पटक ठुलो सख्यांमा सुन समातिएपछि गोरखाका प्रशासन र सुरक्षा निकायले कसरी अनुसन्धान गर्लान् ? भन्ने चासो स्थानीयमा रहेको छ ।
रोजाइमा किन प¥यो, यो रुट ?
सामान्यतया उत्तरी गोरखाबाट गोरखाबजार आउन ४ देखि दिन लाग्छ । जिल्लाको कुल भूभागमध्ये ४४ प्रतिशत क्षेत्र उत्तरी गोरखाले ओगटेको छ । त्यसैको फाइदा उठाउदै तस्करले यो बाटो प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रायः सुनसान बाटो, बाटोमा प्रहरी चेकिङ हुने भाग पनि कम भएकाले तस्करले यो बाटो रोजेको हुनसक्ने प्रहरी दावी गर्छ ।
गोरखा बजार आउनका लागी सामागाउँबाट कम्तिमा पनि ४ दिन लाग्छ । बाक्लो सुरक्षा व्यवस्था नहुनु, बाक्लो बस्ती नहुनु र भौगोलिक हिसाबले विकट भएकाले पनि यो रुट तस्करका लागि उपयुक्त रुट भएका प्रहरीले दावी गरेको छ ।
प्रहरी निरीक्षकलाई प्रलोभन
पक्राउ परेका उनीहरुले सुरुमा प्रहरीलाई पाँच किलो सुन दिने भन्दै आश्वासनमा पार्न खोजेका थिए । प्रहरी नमानेपछि १० किलो नै राखेर आफूहरुलाई छोडिदिन प्रहरीसमक्ष आग्रह गरेको बताइएको छ । तर, आफूहरु उनीहरुको प्रलोभनमा नपरी जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको सर्दिवास चौकीका प्रहरी नायब निरीक्षक तुलबहादुर सेनले बताए ।
संगठनप्रति इमान्दार भएर काम गरेको भन्दै प्रनि सेनलाई जिल्ला प्रहरी कार्यालय गोरखाल सोमबार नगद दुई हजार एक सयसहित सम्मान गरेको छ । ‘संगठनप्रति इमान्दार बनेर कार्यकुशलता प्रर्दशन गरेकाले हामीले उहाँलाई सम्मान गरेका हौँ,’ एसपी बस्नेतले भने ।