काठमाडौँ- भारतीय सेना प्रमुख बिपिन रावतले नेपाल र भुटानको चीनसँगको सम्बन्ध अस्थाई भएको टिप्पणी गरेका छन् । महाराष्ट्रस्थित पूणेमा आयोजित पहिलो बिमस्टेक सैन्य अभ्यास’को समापन कार्यक्रममा बोल्दै सेना प्रमुख रावत यस्तो टिप्पणी गरेका हुन् ।
सेना प्रमुख रावतले बिमस्टेकको पहिलो सैन्य अभ्यासको समापन कार्यक्रममा चीनसँग आर्थिक सहयोग लिइरहेका देशहरूले छिट्टै ‘केही पनि सित्तैमा पाइदैन भन्ने थाहा पाउने’ भनेर चेतावनी दिएका हुन ।
भौगोलिक बाध्यताका कारण पनि नेपाल भारत सँग नजिक रहनुपर्ने उनको तर्क छ । यो सम्बन्धलाई तोडे घाटा नेपाललाई हुने उनको भनाइ छ । पछिल्लो समय नेपाल र चीनबीच बढिरहेको व्यापारिक सम्बन्धका विषयमा बोल्दै रावतले यस्ता टिप्पणी गरेका हुन ।
हालै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणमा निस्काएका छन् । नेपाल र भुटानजस्ता मुलुकहरूले भौगोलिक बाध्यता भारत सँग नजिक रहनु रहेको उनको अभिव्यक्तिको आशय थियो ।
बिमस्टेकको काठमाडौँमा उद्घाटन भएपछि साताव्यापी सञ्चालनमा आएको उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्डले औपचारिक रुपमा सहभागीता नजनाएपछि भारत रुष्ट बनेको टिप्पणी हुन थालेको छ । त्यसलाई नेपालले चीनको प्रभावमा परेर उक्त निर्णय लिएको भन्दै भारतीय पक्षमा अप्रत्यक्ष असन्तुष्टि जनाएको छ।