गाेरखा- राजा छान्ने उदेश्यका साथ गोरखामा लिगलिगे दौड प्रतियागिता आयोजना हुने भएको छ । गोरखाको पालुङटारस्थित लिगलिगकोटमा आगामी २८ असोजमा दौड प्रतियोगिता हुने भएको हो ।
लिलिकोट विकास अभियानले चेपेघाट देखि लिगलिगकोट दरबारसम्म १३ दशमलव ८० किलोमिटरको लामो दौड प्रतियोगिता आयोजना गरेको गरेको हो ।
उक्त दौडमा पहिलो हुनेलाई राजा घोषणा गरिने छ । साथै नगद ६० हजार एक सय रुपैयाँसहित श्रीपेच, पगरी गुथेर मेडल र ट्रफि सहित बजार परिक्रमा गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै दौडमा दोस्रो हुनेलाई ३५ हजार एक सय, तेस्रो हुनेलाई २५ हजार एक सय तथा पहिलो १० स्थान भित्र पर्नेलाई नगद पुरस्कार दिईने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता सम्पन्न गर्नका लागि कुल २८ लाख ५५ हजार लाग्ने अनुमान गरिएको छ । ‘पालुङटार नगरपालिकाले ९ लाख र खेलकुद परिषदबाट पाँच लाख सहयोग प्राप्त भएको छ, बाकी चन्दा संकलन गर्देछौ,’ अभियानका महासचिव सन्तोष देवकोटाले भने । करिव तीन लाख बराबरको श्रमदान स्थानीयले गर्ने उनले बताए ।
उक्त प्रतियोगितामा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले सहभागिता जनाउँने बताइएको छ । आयोजकले हरेक वर्ष विजया दशमीको अवसरमा लिगलिगे दौड प्रतियोगिता गर्दै आएको छ।
नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो। पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिग कोट भ्रमणका लागि आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए।
वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो। राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ। पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ।