एजेन्सी- टि्वटरले आफ्नो यूजर पोलिसी (प्रयोगकर्ताहरूका लागि तयारी पारिएको नीति)मा परिवर्तन गर्ने तयारी गरेको छ। ‘टर्म्स एन्ड सर्भिस’ उल्लङ्घन गरेर ट्विट गर्ने प्रवृत्ति नियन्त्रण गर्न कम्पनीले प्रयोगका नीतिहरूमा परिवर्तन गर्न लागेको हो।
कतिपय आपत्तिजनक र फेक पोस्टका कारण पछिल्लो समय आलोचित हुने गरेको ट्विटरले ती आलोचनाहरूबाट बच्न पछिल्लो कदम चालेको टेकक्रन्च अनलाइनले लेखेको छ। ट्विट गर्दा प्रयोगको नीति उल्लंघन नहोस् भन्नका लागि कम्पनीले पोलिसी परिवर्तनको दीर्घकालीन रणनीति अवलम्वन गरेको ट्विटरले जनाएको छ।
टि्वटरको नयाँ पोलिसी अनुसार यदि कुनै पनि ट्विटलाई एक वा एकभन्दा बढी प्रयोगकर्ताले रिपोर्ट (उजुरी) गरेका छन् भने कन्पनीले सुरुमा उक्त ट्विटले आफ्नो ‘पोलिसी गाइडलाइन्स्’ उल्लङ्घन गरे/नगरेको जाँच गर्नेछ।
यदि उलङ्घन भएको रहेछ भने उक्त ट्विट एउटा म्यासेजसँगै ब्लक हुनेछ अर्थात् रिपोर्ट गरिएको ट्विट फलोअरको टाइमलाइनमा देखिनेछैन। ट्विटको ठाउँमा म्यासेज देखिनेछ- ‘यो ट्वीट अब उपलब्ध छैन, किनकि यसले टि्वटरका नियमहरू उल्लङ्घन गरेको छ।’
यति मात्र होइन, कम्पनीले ल्याउन लागेको पोलिसीअनासार यदि तपाईँले गरेको ट्विटले रिपोर्ट भई नियम उल्लंघन गरेको पुष्टि भएमा तपाईँले उक्त ट्विटमा कुनै पनि एक्सन लिन सक्नुहुने छैन। अर्थात् तपाईँले उक्त ट्वीटलार्इ न डिलिट गर्न सक्नुहुनेछ न त अर्को कुनै ट्विट नै गर्न सक्नुहुनेछ।