गोरखा– गोरखाका सुरक्षा प्रमुखहरू पद्धति नामक गैरसकारी संस्थाले चार्टर गरेको हेलिकप्टर चढेर भ्रमणमा निस्केका छन् । प्रमुख जिल्ला अधिकारीलाई एनजिओको कार्यक्रममा सहभागी नहुन गृह मन्त्रालयको निर्देशन र निर्वाचन आचार संहिता समेत उल्लंघन गरेर उनीहरू शुक्रवार बिहान सदरमुकामबाट त्यसतर्फ हेलिकप्टरमा उडेका हुन् ।
प्रजिअ जितेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारी र राष्ट्रिय अनुसन्धानका डिएसपी रजनी घिमिरे, नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजङ्घ थापा सहित दुई जना गैससकर्मी समेत सहभागी छन् ।
उत्तरी क्षेत्रको सीमा अवलोकनको बहाना बनाएर प्रजिअ सहित उनीहरूलाई कार्यक्रममा सहभागी गराउन पद्धतिले काठमाडौँबाट सिम्रिक एयरको हेलिकप्टर एक लाख भन्दा बढी खर्च गरेर चार्टर गरेको हो । सीमा अवलोकन एनजिओको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
उनीहरूले चुमनुब्री गाउँपालिकास्थित सामागाउँमा पद्धतिले गरेका गतिविधि निरीक्षण, उद्घाटन र शिलान्यास समेत गर्ने कार्यक्रम छ ।
जिल्लामा सबैभन्दा विवादित सिआरएस नामक आईएनजिओको सहकार्यमा पद्धतिले सुरक्षा प्रमुखहरूलाई तीन दिनको लागि त्यसतर्फ लगेको हो ।
सिआरएस विवादास्पद गतिविधिका कारण पटक पटक आलोचित हुँदै आएको छ । उनीहरूको खाने बस्ने व्यवस्था समेत उक्त एनजिओले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले शुक्रवार बिहान सदरमुकाममा गरेको ‘प्रहरी टोल टोलमा अभियान, शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासन’ कार्यक्रम समेत बिचैमा छाडेर सुरक्षा प्रमुखहरू एनजिओसँग हिँडेका हुन् ।
आतिथ्य गरेका बस्नेत, अधिकारी र घिमिरे बिचैमा कार्यक्रम छाडेर हिँडेपछि कार्यक्रम प्रभावित भएको थियो । प्रजिअ बस्नेतले सहायक प्रजिअ केशव शर्मा र एसपी अधिकारीले प्रहरी नायव उपरीक्षक भेषराज रिजाललाई कार्यक्रमको जिम्मा लगाएका थिए ।
बिहीबार नै उनीहरू त्यसतर्फ जाने कार्यक्रम थियो । मौसम खराब भएका कारण हेलिकप्टर उड्न सकेन । शुक्रवार बिहान आफ्नै कार्यक्रम र कार्यालयको कामको समेत बेवास्ता गर्दै उनीहरू गएको सुरक्षा निकायका अन्य कर्मचारीले गुनासो गरे ।
‘दसैँको बेला बजार अनुगमन देखि शान्ति सुरक्षाका अन्य थुप्रै काम गर्नुपर्ने छ, सरहरू जानु भयो,’ एक अधिकारीले भने । सुरक्षा प्रमुखहरू एनजिओको कार्यक्रममा सहभागी हुन गएको पद्धतिकी निर्देशक कमला लामिछानेले पुष्टि गरिन् ।
‘निर्माणको काम पनि अनुगमन गर्छौँ ।’ भ्रमणलाई सकारात्मक रूपमा बुझिदिन प्रजिअ बस्नेतले आग्रह समेत गरे । उनीहरू तीन दिनसम्म एनजिओको गतिविधिमा सहभागी हुने कार्यक्रम तय भएको छ ।