काठमाडौं- सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ । अब सरकारी निकायमा विद्युतीय पत्राचारले पनि मान्यता पाउने भएको छ । उनलार्इ शेरबहादुर देउवा नेतृत्वको सरकारले महाप्रवबन्धकमा नियुक्त गरेको थियो ।
बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्र राष्ट्र कतार भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा यही कात्तिक १२ देखि १५ गतेसम्म प्रतिनिधिमण्डलका साथ त्यहाँको भ्रमण गर्दै छन्।
नेपाल–कतारबीच द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने सो भ्रमणको मुख्य उद्देश्य रहेको छ । उक्त अवसरमा कृषि तथा पशुपक्षी विकाससम्बन्धी, स्वास्थ्यसम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी तथा दुवै देशका कूटनीतिक राजदानी वाहकका लागि प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ ।
बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टलाई नेपाल–मलेशिया सरकारबीच कामदार आपूर्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।