गोरखा- मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्न अब स्वदेशीले पनि शुल्क तिर्नुपर्ने भएको छ । विदेशी नागरिकलाई मात्र प्रवेश शुल्क लिइँदै आएकोमा अब नेपाली पर्यटकले पनि शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो । मनास्लु क्षेत्र प्रवेश गर्न विदेशी नागरिकले २ हजार २६० रुपैयाँ प्रवेश शुल्क लाग्ने व्यवस्था छ । अब नेपालीलाई सय रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
सरकारले गत २९ असोजमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मनास्लु संरक्षण क्षेत्रमा नेपालीलाई पनि प्रवेश शुल्क तोकेको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए । नयाँ प्रावधानअनुसार मनास्लु प्रवेश गर्न नेपालीलाई सय रुपैयाँ शुल्क लिइनेछ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतका संरक्षण क्षेत्र आयोजनाका काउन्टरबाट अनुमति लिनुपर्छ ।
सार्क मुलुक र अन्य विदेशी पर्यटकको प्रवेश शुल्क वृद्धि गरिएको छ । सार्क मुलुकका नागरिकलाई २ सय रुपैयाँबाट बढाएर हजार रुपैयाँ प्रवेश शुल्क पु¥याइएको छ । सार्कबाहेक अन्य मुलुकका पर्यटकले यसअघि करसहित २ हजार २६० रुपैयाँ बुझाउँदै आएकोमा अब ३ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख लामाले बताए ।
एमक्यापमा पदयात्रा गर्न जाने पर्यटकले काठमाडौंको भृकुटीमण्डप, पोखराको ड्यामसाइड र लमजुङको बेंसीसहरमा रहेको काउन्टरबाट अनुमति लिने गरेका छन् । लामाका अनुसार पर्यटकका रूपमा जाने नेपालीले मात्र अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । ‘स्थानीयको हकमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा टुंगो लागेको छैन,’ लामाले भने, ‘पहिले नेपालीले प्रवेश गर्न १० रुपैयाँ शुल्क कायम गरिए पनि व्यावहारिक नभएपछि लागू भएन, शुल्क लिने कुरा आएसँगै नेपालीको अनुगमन कसरी गर्ने भन्ने विषय चुनौती बनेको छ ।’ एमक्यापले २९ असोजमा सूचना प्रकाशन भएको समयदेखि परिमार्जित शुल्क लिएर पर्यटकलाई अनुमति जारी गरेको छ ।
केही वर्षदेखि मनास्लु संरक्षण क्षेत्रमा घुम्न जाने पर्यटकको संख्या बढ्दै गएको छ । ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल, मनास्लु बेसक्याम्प, लार्केपास तथा चुम र नुब्री उपत्यका अवलोकन गर्न विदेशी पर्यटक सो क्षेत्रमा जाने गर्छन् ।