काठमाडाै- एक घण्टा नाच्न मानिसलाई हम्मेहम्मे पर्छ। तर, १७ वर्षीया किशोरी बन्दना नेपाल शुक्रबारदेखि निरन्तर नाचिरहेकी छन्। उनले सोमबार बेलुकासम्म ८५ घण्टा निरन्तर नृत्य गरिसकेकी छन्।
काठमाडौंको बत्तिसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य चार दिनदेखि लगातार चलिरहेको छ। उनले विश्व रेकर्ड कायम गर्न कम्तिमा पनि १२ मंसिरको बिहान १२ बजेसम्म निरन्तर नाच्नुपर्नेछ। गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो सयम नृत्यको रेकर्ड भारतले बनाएको छ।
सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथले १२३ घण्टा नृत्य गरेर विश्व रेकर्ड कायम गरेकी छन्। बन्दनाले १२६ घण्टा लगातार नृत्य गरेर कलामण्डलमको रेकर्ड तोड्ने लक्ष्य राखेकी छन्। नृत्य स्थलमा ६० वटा नेपाली गीत निरन्तर बज्ने गरेको छ।
गिनिज बुकको नियमअनुसार बन्दनाले हरेक घण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी छन्। नच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको भए पनि अरु समस्या देखिएको छैन। महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना अहिले काठमाडौंको चल्सी स्कुलमा कक्षा १२ मा पढ्दै छिन्।