गाेरखा- सरकारले हरेक वडामा सुरक्षित बर्थिङसेण्टर(प्रसुतीकेन्द्र) स्थापना गर्ने नीति लिएको छ । गर्भवती महिलालाई चारपटक अनिबार्य सुई र बर्थिङसेण्टरमा बच्चा जन्माउनेलाई प्रोत्साहन भत्ताको पनि ब्यबस्था गरेको छ, तर गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकाका सातमध्य एउटा स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेण्टर सञ्चालनमा रहेको गाउँपालिका स्वास्थ्य इकाइ प्रमुख प्रेम गुरुङले जानकारी दिए ।
बर्थिङसेन्टर नहुँदा सुत्केरी हुने अबस्थाका महिलामा सामान्य समस्या देखिए पनि दुई, अढाइ लाख रुपैँया खर्चेर हेलिकोप्टर चार्टर गराउनु पर्ने बाध्यता रहेको गुरुङको भनाइ छ । ‘चुमनुब्री गाउँपालिकाभरि साबिक सातवटा गाविस छन् । प्रत्येक गाविसमा स्वास्थ्यचौकी त छ, तर बर्थिङ सेन्टर सिर्दिबास स्वास्थ्यचौकीमा मात्र छ’, गुरुङ भन्छन्, ‘अरु ठाउँमा कि त घरमै सुत्केरी गराउँछन्, कि त हेलिकोप्टर चार्टर गरेर काठमाडौं पु¥याउनुको बिकल्प छैन ।’ हेलिकोप्टर चार्टर गर्न नसक्ने अबस्थाका कैयौं सुत्केरी र बच्चाको मृत्यू भइसकेको उनले बताए ।
ल्हो स्वास्थ्य चौकी र लार स्वास्थ्यचौकीमा पनि बर्थिङसेण्टर स्थापना भएको थियो । तर स्थापना भएदेखि नै सञ्चालनमा नआएको सिर्दिबास स्वास्थ्यचौकीका प्रमुख पूर्ण गुरुङको भनाइ छ ।
दक्ष जनशक्ति र आवश्यक सामग्रीको अभावमा सिर्दिबासबाहेक कहीँ पनि बर्थिङसेन्टर चल्न सकेको छैन । बर्थिङसेन्टरको अभावमा गर्भवती महिलाले नियमित खोप पनि नलगाएका उनको भनाइ छ ।
सुत्केरी गराउन महिलालाई खोला तार्न नहुने अन्धविश्वासका कारण पनि महिलाहरुले जोखिम सामना गरिरहनु परेको सिर्दिबास स्वास्थ्यचौकी प्रमुख गुरुङको भनाइ छ ।
‘सुत्केरी हुनेबेला खोला तार्न हुदैन भन्ने अन्धविश्वास छ’, उनले भने, ‘एउटा गाउँबाट स्वास्थ्यचौकी पुग्न छ घण्टासम्म हिड्नु पर्ने ठाउँहरु छन् यहाँ ।
यस्तो ठाउँमा सुत्केरी गराउन खोला तार्न हुदैन भन्ने अन्धविश्वासले झन महिलाहरुले समस्या बेहोरिरहेका छन् ।’ सबैभन्दा टाढा सामागाउँ स्वास्थ्यचौकीबाट सुत्केरी गराउन सिर्दिबासको स्वास्थ्यचौकीमा आइपुग्न सर्बसाधारण यात्रुलाई तीन दिन लाग्छ । सुत्केरी ब्याथाले च्यापेको महिलालाई यति टाढा ल्याउन सम्भव नरहेको स्वास्थ्यचौकी प्रमुख गुरुङको भनाइ छ ।
सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर भइदिए गर्भवती महिलाले प्रसुती सेवा सहज रुपमा पाउन सक्ने स्थानीयको माग छ ।