काठमाडौं– सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरिया गरी ४ देश जाने नेपालीको श्रम स्वीकृति रोकेको छ। सरकारले यी देशको रोजगारीबाट फर्किएका कामदारका लागि पुन: श्रम स्वीकृति वितरणमा पनि रोक लगाएको छ।
सरकारले असुरक्षित देशमा जाने कामदारका विषयमा ती देशसँग कानुनी परामर्श लिनुपर्ने भएकाले केही समय भिसा स्थगित गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
समय व्यक्तिगत भिसामा अफगानिस्तान, लिबिया, इराक र सिरिया जाने कामदारको संख्या बढदै गएपछि ती देशसँग छलफल र सम्वाद गरेरमात्र श्रम स्वीकृति जारी गरिने श्रम मन्त्रालयले जनाएको छ।
सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरिया युद्धग्रस्त देश भएका कारण श्रम स्वीकृति रोकिएको मन्त्रालयको भनाइ छ। असुरक्षित देश भएकाले सुरक्षाको कारण देखाउँदै श्रम रोकिएको हो। हाल श्रम कार्यालयमा दैनिक १ सय भन्दा धेरै श्रम स्विकृति लिन धाउने गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेको वा भ्रमण शंकास्पद भएका व्यक्तिको भिजिट भिसामा पनि कडाइ गरिएको छ।
ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर तथा म्यानपावर व्यवसायीका प्रतिनिधिका नाममा खाडीका देश र मलेसिया जाने नेपालीको भिजिट भिसा शंकास्पद भएपछि निगरानी बढाएको कार्यालयले जानकारी दिएको छ।
मंगलबार कार्यालयले सूचना जारी गदै भिजिट भिसा जाने लागेका व्यक्तिलाई आवश्यक कागजात नपुगे जतिबेला पनि रोक्न सक्ने जनाइएको छ।
भिजिट भिसामा गएर विदेशमै अलपत्र हुने क्रम बढ्दै गएपछि नियन्त्रण गर्न लागिएको हो। यो विषयमा व्यक्ति स्वयं आएर थप बुझ्न सक्ने व्यवस्था मिलाइएको व्यहोरा समेत सूचित गरिएको छ।