काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बैठकमा पुनर्निर्माणको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणको समय दुई वर्ष बाँकी रहेको र सो समयसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने बताएका हुन् ।
उनले प्राधिकरण स्थापना भएको तीन वर्षमा निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत, विद्यालय भवन पुनर्निर्माणमा ८० प्रतिशत, सरकारी भवन पुनर्निर्माणमा ९५ प्रतिशत, पुरातात्विक सम्पदा पुनर्निर्माणमा ६८ प्रतिशत, सुरक्षा निकाय पुनर्निर्माणमा ५४ प्रतिशत काम भएको जानकारी दिए ।
‘नीति, कानूनी तथा संरचनागत सहित हामीले पुनर्निर्माणका कार्यहरु द्रुतगतिमा गरिरहेका छौं,’ उनले भने ‘स्पष्ट लक्ष्य र योजनाका साथ काम गरिरहेकाले बाँकी कामहरु २०७७ साल पुस १२ गतेभित्र सम्पन्न गर्नेछौं ।’ अनुदान सम्झौता गरेका मध्ये ९९ प्रतिशत भूकम्प पीडित लाभग्राहीले पहिलो किस्ता लिइसकेको भन्दै उहाँले किस्ता लिएका सबैलाई घर पुनर्निर्माण गर्न आग्रह गरे।
एकजना भूकम्प पीडित पनि अनुदान लिएर घर बनाउन नछुटुन र कोही पनि नदोहोरिउन भन्ने मूल मन्त्रका साथ अघि बढेको उल्लेख गर्दै ज्ञवालीले पुनर्निर्माणका कामलाई थप सहजीकरण गर्नका लागि प्राधिकरणले साधन स्रोत उपलब्ध गराउने गरी स्थानीय तहहरुलाई जिम्मेवारी हस्तान्तरण प्रकृयालाई अघि बढाएको जानकारी गराए ।
स्थानीय तहसँगको सहकार्यमा यसअघि छुट भएकाहरुको पुनस् सर्वेक्षण हुने जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका कार्यहरुमा सहयोग गर्न सबैलाई आग्रह गरे । बैठकमा सांसदहरुले निजी आवास पुनर्निर्माण, एकीकृत बस्ती, सम्पदा पुनर्निर्माण, पुनर्निर्माणमा वैदेशिक सहयोग, गैरसरकारी संस्थाहरुको भूमिका लगायतबारे जिज्ञासा राखेका थिए । समितिका सभापति र सांसदहरुले पुनर्निर्माणका कामहरुलाई अघि बढाउनका लागि आफूहरुको तर्फबाट सबै सहयोग गर्ने बताएका थिए ।