गाेरखा- गोरखामा आउँदो माघ महिनाबाट रक्तसञ्चार केन्द्र अर्थात ब्लड बैङ्क सञ्चालन हुने भएको छ । जर्मन रेडक्रसको सहयोगमा सदरमुकाममा रेडक्रस जिल्ला शाखा गोरखाले ब्लड बैङ्क सञ्चालनमा ल्याउने भएको हो ।
आफ्नै भवन निर्माण नहुञ्जेलसम्म अस्थायी रुपमा जिल्ला शिक्षा कार्यालयको पुरानो भवनको भुइँतलाबाट ब्लड बैङ्क सञ्चालन गर्ने रेडक्रसको तयारी छ । रेड क्रसको आफ्नो भवन अहिले निर्माणाधिन अवस्थामा छ । जर्मन रेडक्रसले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि करिब दुई करोड ५० लाख रुपैयाको सामग्री उपलब्ध गराएको छ ।
ब्लड कलेक्सन मोनिटर, ट्युव सिलर, स्टेरेलाइज ओभन, इक्युभेटर, फ्रिज लगायतका सामग्री जर्मन रेडक्रसले सहयोग गरेको जिल्ला सभापति भगवानबाबु मास्केले जानकारी दिए । ‘प्राप्त सबै उपकरण जडान गरिसकेका छौँ’ उनले भने ‘दुईवटा फ्रिज आउन बाँकी छ । त्यसैले ब्लड बैंक स्थापनामा ढिलाई भएको हो । अब फ्रिज प्राप्त हुनासाथ ब्लड बैंकको काम सुरु हुन्छ ।’ ब्लड बैङ्क नहुँदा अहिले आकस्मिक अवस्थाका बिरामीलाई तत्काल दाता खोजेर रगत उपलब्ध गराउने गरिएको छ ।
गोरखा अस्पतालमा शल्यक्रिया लगायतका उपचार हुन थालेपछि जिल्लामा रगतको माग बढ्दै गएको छ । जिल्लाका दुई नगरपालीका सहित ९ वटै स्थानीय तहमा अस्पताल स्थापना भएपछि रगतको माग अझै बढ्ने भएकाले रक्तसञ्चार केन्द्र अर्थात ब्लड बैङ्क स्थापनालाई रेडक्रसले प्राथमिकता दिएको रेडक्रस जिल्ला शाखा गोरखाले जनाएको छ ।
ब्लड बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाईटीले जिल्लाका विभिन्न अस्पतालका ल्याब टेक्निसियनहरु लाई तालीम दिने पनि तयारी गरेको छ । ब्लड बैंकका लागि आबश्यक कर्मचारी ब्यबस्थापनको प्रक्रिया पनि चलिरहेको जिल्ला सभापति मास्केले जानकारी दिए ।
ब्लड बैंक सञ्चालनका लागि रेड क्रसले जिल्लाका स्थानिय तहहरुसँग आर्थिक सहयोग माग गरेको छ । जसअन्तरगत हालसम्म गोरखा नगरपालिकाले तीनलाख, चुमनुब्री गाउँपालिकाले दुईलाख र सिरानचोक गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् । अन्य स्थानीय तहले सहयोग गर्ने आश्वासन दिएपनि अहिलेसम्म रकम उपलब्ध नगराएको जिल्ला सभापति मास्केले जानकारी दिए ।
दराैँदी दैनिकबाट